असार ६ गते २०७८, काठ्माडौं ।
लैंगिक तथा यौनिक अल्पसंख्यक किशोरकिशोरीका मुद्दा, सरोकार, समस्या र समाधानबारे जनचेतनाका लागि किशोरकिशोरीले भित्ते चित्र कथा लेखनसम्बन्धि कार्यशाला शुरु गरिएको छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार स्थापनामा क्रियाशिल संस्था एसेप्टेन्स कोओर्डीनेटेडसँगको सहकार्यमा सिविन नेपालले कार्यशालाको आयोजना गरेको हो । जुन महिनालाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारस्थापनाको बहस गर्ने गौरवको महिनाका रुपमा मनाउँदै तालिमको आयोजना गरिएको हो ।कार्यशालामा सहभागी किशोरकिशोरी र युवाहरुले आफ्नो पहिचानका लागि गर्नु परेका संघर्ष, सफलताका कथा, नीति नियममा भएका कमी कमजोरी, सामाजिक अप्ठ्यारालगायतका बारेमा छलफल गरेका थिए । कार्यशालाको उद्घाटन गर्दै सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिले भोग्नु परेका मानसिक समस्याको सम्बोधनमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो । साथै आवश्यक परेमा सिविन र कान्ति बाल अस्पतालको सहकार्यमा स्थापित बालबालिका तथा किशोरकिशोरी मनोसामाजिक विभागको टोल फ्रि नम्बर १६६००१ १०६६६ मा सम्पर्क गर्न अनुरोध समेत गर्नुभयो । कार्यशालाका सहभागीले तैयार पारेका भित्ते चित्रलाई लगतै किताबका रुपमा तैयार पारी जनचेतनाकालागि वितरण गरिने सिविन नेपालले जनाएको छ ।