असोज ११ गते २०७८, मकवानपुर ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बालबालिकाका मुद्दालाई प्राथमिकतामा पार्न सिविन नेपालले बुझाएको ज्ञापनपत्र माथि बागमती प्रदेशका अर्थमन्त्री र महिला, बालबालिका तथा सामाजिक विकास मन्त्रीविच छलफल भएको छ । सिविन नेपालले प्रस्तुत गरेको ज्ञापनपत्रको कार्यान्वयनमा सम्भावना र अवसरबारेमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले सामाजिक विकासमन्त्री विजय सुवेदीसँग मन्त्रालयमा छलफल गर्नुभएको हो । दुबै मन्त्री निक्कै सकारात्मक देखिनुभएको, छलफलमा उपस्थित सिविन नेपालका कार्यक्रम अधिकृत सन्तोष विमलीले जानकारी दिनुभयो । यसअघि, सिविन नेपालका अध्यक्ष माधव प्रधानले सुझाव कार्यान्वयनको विषयमा आर्थिक मामिला तथा योजना मन्त्री खड्कासँग काठ्माडौंमा छलफल गर्नुभएको थियो ।
सरकारको नीति तथा कार्यक्रममा बालबालिकाका मुद्दालाई प्राथमिकतामा पार्नुपर्ने आवश्यकताका बारेमा सिविन नेपालले सातै प्रदेशका सरकारलाई सुझावसहितको ज्ञापनपत्र बुझाएको थियो ।

