फागुन ५ गते २०७८, मकवानपुर ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी अधिकृतहरुलाई बालबालिकामाथि अनलाइनमा हुने यौनजन्य हिंसा र दुर्व्यवहारका घटनाको विषयमा विशेष तालिम दिइएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुर र सिविन नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा बालबालिकामाथि अनलाइनमा हुने अपराधका विषयमा साइबर व्युरोका प्रहरी नायव उपरिक्षक दिपेश जोशीबाट तालिम दिइएको हो । तालिममा जिल्ला प्रहरी कार्यालय, मकवानपुर मातहतका २२ प्रहरी अधिकृत, २ नायव उपरिक्षक र एक प्रहरी उपरिक्षकसहित ३७ जना सहभागी रहे । कार्यक्रममा उपस्थित प्रहरीहरुले विषयगत ज्ञानका साथै बाल संरक्षणको दृष्टिकोणले पनि समस्या सम्बोधनमा तालिमले थप सहयोग पुर्याउने विचार राखेका थिए । अहिले साइबर अपराधलाई कार्यालयको सूचना विभागले हेर्दै आएको तर विषयगत दक्षताका लागि थप तालिमको आवश्यकता रहेको समेत सहभागीहरुले औंल्याएको सिविन नेपालका परियोजना व्यवस्थापक माधव लोहनीले जानकारी दिनुभएको छ ।



