फागुन २२ गते २०७८, काठ्माडौं ।
स्थानिय तहको निर्वाचनमा बैशाख २९ गतेसम्ममा १८ बर्षपुग्ने सबै किशोरकिशोरीले मताधिकार प्रयोग गर्न पाउने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिनुभएको छ । बैशाख २९ गते १८ बर्ष पुग्ने किशोरकिशोरीको संख्या २ लाखको हाराहारीमा रहेको र उनीहरुको मताधिकार संरक्षण प्रक्रियाका लागि सरकारसँग सहकार्य भइरहेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो । सिविन नेपालका अध्यक्ष माधव प्रधान नेत्तृत्वको टोलीसँग आज आयोगमा भेटघाटको क्रममा प्रमुख आयुक्त थपलियाले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा बालअधिकार उल्लंघन र हनन् हुन नदिन ७५३ वटै स्थानिय तहमा निर्वाचन संरचना खडा गरिने बताउनुभयो । साथै बालअधिकार उल्लंघनका कुनै पनि घटनामा जिम्मेवारलाई तत्काल कारवाहीको अधिकारसमेत संरचनाहरुलाई दिइने उहाँले स्पष्ट पार्नुभयो । यसअघिका निर्वाचनहरुमा बालअधिकार हनन् र उल्लंघनका घटनाका प्रसस्तै उदाहरण भएको सन्दर्भमा बालअधिकारको क्षेत्रमा ३५ बर्षदेखि क्रियाशिल सिविन नेपालको टोलीले निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियालाई आज भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझ्दै उहाँले दल र उम्मेदवारको प्रचारप्रसारलगायतका गतिविधिमा शिक्षकहरुको संलग्नता र विद्यालय, विद्यार्थीको प्रयोग रोक्नकालागि आचार संहिता ल्याएको जानकारी दिनुभयो । यसैगरी, सिविन नेपाललगायतका बालअधिकार संरक्षणको क्षेत्रमा क्रियाशिल संघसंस्थालाई पनि निर्वाचन मर्यादित र बालबालिका मैत्री बनाउने सन्दर्भमा आयोगसँग सहकार्य गर्न समेत उहाँले आग्रह गर्नुभएको थियो ।


