चैत ११ गते २०७८, काठ्माडौं ।

स्थानीय तहको निर्वाचनका लागि दलहरुले बनाउने घोषणापत्रमा बालबालिकाको मुद्दालाई प्राथमिकतामा राख्न सिविन नेपालले थालेको अभियान अन्तर्गत आज नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीलाई अनुरोधपत्र बुझाइएको छ । सिविनका अध्यक्ष माधव प्रधान र कार्यकारी निर्देशक सुम्निमा तुलाधरको नेतृत्वको टोलीले आज उपमहासचिव ज्ञवाली कै निवास पुगेर अनुरोधपत्र हस्तान्तरण गरेको हो । राष्ट्रिय किशोरी संजालका अध्यक्ष ललिता तामाड, राष्ट्रिय किशोर संजालका केन्द्रीय सदस्य फिरोज खड्का र सिविन नेपालका अध्यक्ष माधव प्रधानले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउनुभएको हो ।

अनुरोधपत्र पढेर सुनाउँदै सिविन नेपालका कार्यक्रम व्यवस्थापक ध्रुव गौतमले पछिल्लो निर्वाचनमा घोषणापत्रमा, बालबालिकाका मुद्दालाई आवश्यकता अनुसार प्राथमिकतामा राख्नेमा सबैभन्दा अघि नेकपा एमाले रहेको जानकारी दिनुभयो । गएको निर्वाचनमा विभिन्न दलहरुले सार्वजनिक गरेको घोषणापत्रको सिविन नेपालले विश्लेषणात्मक अध्ययन गरेको उल्लेख गर्दै नेकपा एमालेले बालबालिकाका मुद्दालाई प्राथमिकतामा राखेको देखिएको उहाँले बताउनुभयो ।
अनुरोधपत्र बुझ्दै एमाले उपमहासचिव प्रदिप ज्ञवालीले यसअघिको निर्वाचनको बेलामा पनि बालबालिकाका मुद्दालाई घोषणापत्रमा समावेश गर्न सिविनले अनुरोधपत्र प्रस्तुत गरेको स्मरण गर्दै दलहरुको घोषणापत्रको समेत विश्लेषण गरिएकोमा खुशी व्यक्त गर्नुभयो । बालअधिकारका मुद्दालाई मुलधारमा ल्याउन सिविन नेपालले लामो समयदेखि गर्दै आएका कामहरु निक्कै सह्राहनिय भएको एमाले उपमहासचिव ज्ञवालीले टिप्पणी गर्नुभयो । बालबालिकाको संरक्षण भनेको देश हुर्काउने काम भएको भन्दै उपमहासचिव ज्ञवालीले संविधान निर्माण कै क्रममा पनि बालबालिकाका हकलाई छुट्टै धारामा समावेश गर्नेबारे लबिड गर्ने पार्टीमा नेकपा एमाले नि रहेको उल्लेख गर्नुभयो । साथै दलले निर्वाचनका आचारसंहितालाई अक्षरस पालना गरिने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । यसेगरी, निर्वाचनका कुनै पनि गतिविधिले बालबालिकाको पढ्ने लेख्ने काम कुण्ठित हुन नहुने भन्दै यसतर्फ ध्यान दिन अरु दलहरुको पनि ध्यानाकर्षण गर्ने उहाँले बताउनुभयो । साथै पालिकाहरुलाई अधिकतम बालमैत्री बनाउन उमेर अनुसार दिइने सबै खोपहरुको व्यवस्था, स्कूल शिक्षा हासिलको वातावरण, बालश्रम पूर्ण रुपमा हटेकोलगायतका पूर्वाधारको सुनिश्चितता हुनेगरी घोषणापत्र तैयार पारिने उपमहासचिव ज्ञवालीले विश्वास समेत दिलाउनुभयो ।