पुष १३ गते, २०७८, काठ्माडौं ।
“बालबालिका राष्ट्रिय गौरव हुन्” अवधारणामा राष्ट्रिय मानव अधिकार आयोगमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ । मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरको सभापतित्वमा अघि बढेको कार्यक्रममा अवधारणाका प्रस्तावक वरिष्ठ मानव अधिकारकर्मी गौरी प्रधानले, बालबालिकाका राष्ट्रिय गौरवका हुनुका आधारहरु प्रस्तुत गर्नुभएको हो । मानव अधिकार आयोगका पूर्व आयुक्त प्रधानले, बालबालिकामा लगानीको प्रतिफल सँधै सकारात्मक रहने भन्दै बालबालिकालाई राष्ट्रिय गौरवका रुपमा स्वीकार्न सके मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने विचार राख्नुभयो । कार्यक्रमका सहभागीहरुले अवधारणामा स्पष्ट हुँदै विभिन्न आधार र बुँदाहरुमा थप छलफल गरेका थिए । साथै अवधारणाका प्रस्तावक गौरीप्रधानले उपस्थित सहभागीहरुको जिज्ञासा सम्बोधन समेत गर्नु भएको थियो । आयोग जस्तो संवैधानिक निकायले राज्यका नीति तथा कार्यक्रमको तहमा अवधारणाको मर्मलाई आत्मसातगर्दै बालबालिकालाई साँचो अर्थमा राष्ट्रिय गौरवको रुपमा स्वीकार्ने वातावरण निर्माणका लागि सहयोग गर्न सिविन नेपालका संस्थापक अध्यक्ष प्रधानले आयोगलाई अनुरोध गर्नु भयो । आयोगका कायममुकायम सचिव मुरारी प्रसाद खरेलले अवधारणालाई आयोगको तर्फबाट अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो । आयोगका अध्यक्ष मगरले विभिन्न तथ्य र तथ्यांकको अध्ययन र अनुसन्धानका आधारमा अगाडि सारिएको अवधारणा सबैको साझा सम्पत्ति भएकोले सबै राज्यका निकायहरु र सरोकारवालाहरुले संयुक्त रुपमा अगाडि बढाउनु पर्ने धारणा राख्नुभयो । सँगै आयोगको पहलमा सिविन नेपाल र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सीजोप)को सहआयोजनामा कार्यक्रम संचालन भएको हो ।




