चैत १२ गते २०७९, काठ्माडौं ।
नेपालमा बालविवाह अन्त्यका लागि कार्यदिशा तय गर्ने विषयमा एक उच्चस्तरिय नीतिगत संवाद कार्यक्रम आयोजना गरिएको छ । बालिका दुलही हैन (जीएनवी, नेपाल) तथा एनएसिजी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा बालविवाह अन्त्यका लागि भएका कामहरु र सामना गर्नु परेका चुनौतीबारे सरोकारवालाहरुबीच छलफल भएको हो । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव यमलाल भुषालले बालविवाह अन्त्यका लागि विद्यमान कानुन र परिमार्जनका लागि भइरहेका काम बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी, राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाले सरकारी प्रयासमा नागरिक समुदायको खबरदारीको आवश्यकता औंल्याउनुभयो । यसैक्रममा बालअधिकार अभियन्ता गौरी प्रधानले बालबालिकाका अधिकार, संरक्षणलगायतका विषयलाई सरकारले राष्ट्रिय गौरवका रुपमा हेर्नुपर्नेमा जोड दिनुभयो । बालबालिका राष्ट्रिय गौरव हुनुका १० आधारका बारेमा जिकिर गर्दै मानवअधिकार आयोगका पूर्व आयुक्त प्रधानले अवधारणालाई सरकार र नागरिक स्तरवाट अपनत्व लिनु बालअधिकार स्थापना तर्फ सकारात्मक कदम भएको विचार राख्नुभयो । कार्यक्रम कै क्रममा बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने अवधारणालाई एनएसिजीमा आवद्ध १८ वटा नागरिक समाज संघसंस्थाले अपनत्व ग्रहण गरेका थिए ।







