बैशाख २६ गते, २०८०, इलाम ।
इलामको सूर्योदय नगरपालिकास्थित एक विद्यालयका विद्यार्थीमा मानसिक स्वास्थ्यसँग सम्बन्धितसमस्या देखिएपछि सिविन नेपालको नेत्तृत्वमा कान्ति बाल अस्पतालको चिकित्सकसम्मिलत टोलीले प्रभावित विद्यार्थीलाई आवश्यक उपचार र अभिमुखिकरण दिएको छ ।
गएका ५ महिनादेखि केही विद्यार्थीहरुमा मुर्छ्या पर्ने, वेहोस हुने, अनियन्त्रित रुपमा आफूलाई वा अरुलाई शारीरिक हानी पुर्याउने जस्ता समस्या देखिएपछि सूर्योदय नगरपालिकाको पहलमा विद्यालयमा चिकित्सक टोली पुगेको हो ।
विद्यार्थीमा लामो समयदेखि विभिन्न मानसिक समस्या (मास कम्भर्जन डिस्अर्डर) कै कारण पठनपाठनसँगै अरु व्यक्तिगत र सामाजिक क्रियाकलापमा समेत असर पर्न थालेपछि नगरपालिका प्रमुख रण बहादुर राईको पहलमा स्वास्थ्योपचार र अभिमुखिकरणका लागि टोली गएको हो । प्रभावित विद्यार्थीमध्ये आवश्यकतामा रहेकालाई औषधी वितरण गरेसँग काठ्माडौं कान्ति बालअस्पतालको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभागमा कार्यरत विशेषज्ञसँग टेलिपरामर्शको व्यवस्था समेत मिलाइएको छ ।
यहीक्रममा, विद्यालयका अरु विद्यार्थी, अभिभावक र शिक्षकलाई समेत बालबालिकाको मानसिक स्वास्थ्यका विभिन्न पक्षका बारेमा अभिमुखिकरणका गरिएको थियो । मास कन्भर्जन डिस्अर्डरको बेला, अरु विद्यार्थी, शिक्षक वा अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा समेत कार्यक्रममा जानकारी गराइएको थियो । बालबालिकालाई यही क्रममा बाल हेल्पलाइन १०९८, मानसिक स्वास्थ्य समस्याको तत्काल सम्बोधनका लागि टोलफ्री नम्बर १६६००१ १०६६६ बारेसमेत जानकारी गराइएको थियो ।