सडक आश्रित बालबालिकाको सशक्तिकरणका लागि कानूनी पहिचानमा सरोकारवालाको भूमिका विषयमा भएको अन्तर्क्रिया
जेठ १७ गते २०८०, काठ्माडौं ।
सडक आश्रित बालबालिकाको सशक्तिकरणका लागि कानूनी पहिचानमा सरोकारवालाको भूमिका विषयमा भएको अन्तक्र्रिया कार्यक्रममा जन्मदर्ता र नागरिकता लिने काममा भोग्नु परेका समस्या तथा समाधानमा छलफल र बहस भएको छ । सडक आश्रित बालबालिकाले पहिचानका लागि गर्नुपरेको संघर्षका बारेमा कार्यक्रममा सरोकारवालाहरुबीच छलफल भएको हो । कार्यक्रममा सहभागीहरुले नागरिकताका लागि गर्नु परेको संघर्षको बारेमा बताउँदा कार्यक्रमको माहौल निक्कै भावुक बनेको थियो । यही क्रममा सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले धेरै बर्षअगाडि नै “कमनरुम” नामक कार्यक्रमबाट सडकआश्रित बालबालिकासँगै मिलेर उनीहरुकालागि काम गरेको स्मरण गर्दै लामो समयदेखि पहिचानकाागि संघर्ष गरिरहेका बालबालिकाकालाई हेर्दा नीति निर्माताहरुले सडक आश्रित बालबालिकाका समस्या, भावना, आवश्यका नबुझेको कि भनेर आशंका ब्यक्त गर्नुभयो । यसैक्रममा माहिला कानून विकास मंचका अधिवक्ता सुष्मा गौतमले कार्यक्रममा सडक आश्रित बालबालिकाको कानूनी पहिचानमा आएका समस्या र समाधानमा देखिएका चुनौतीका बारेमा प्रस्तुती दिनुभयो । व्यवहारमा कानून कार्यान्वयन गर्ने क्षेत्रमा रहेकाहरुले सहयोगी भूमिका नखेल्दा पनि समस्या गम्भीर भएको अधिवक्ता गौतमको विचार थियोे । अधिवक्ता गौतमले कानूनले गरेको व्यवस्था कार्यान्वयन नहुने अवस्थामा सरोकारवालाहरुले, कार्यान्वयन नहुनुको कारण दरपिठ गर्न अति आवश्यक रहेको र यसबाट अगाडिका दिनमा कानूनी बाटो अझ फराकिलो बन्ने बताउनुभयो ।
पंजिकरण विभागका शाखा अधिकृत मेघराज शंकरले सरकारले सन् २०२४ सम्ममा नेपालमा जन्मदर्ता सतप्रतिशत पुर्याउने सरकारी लक्ष्यका लागि पनि कार्यशैली सहज बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रमाण अपुग भएको अवस्थामा सेवाग्राहीलाई नै प्रमाण जुटाउन लगाउनु, विभिन्न सरकारी निकायबिच समन्वय नहुनु नै ठूलो समस्या रहेको बताउनुभयो । नागरिकताको विषयमा धेरै कानूनी जटिलता नभएपनि कार्यान्वयनमा समस्या हुनु सरकारी कर्मचारीको मानसिकतासँग जोडिएको समस्या भएको बताउनुभयो ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका शाखा अधिकृत सिता वेलवासेले सडक आश्रित बालबालिकाको अभिलेख अध्यावधिक गर्ने र जिल्ला, पालिकाहरुमा बालबालिकाकालागि काम गर्ने संयन्त्र खडा गर्न समन्वयात्मक भूमिका खेलेको बताउनुभयो ।
यसैगरी, बालबालिका खोजतलास समन्वय केन्द्र १०४ का प्रहरी नायव उपरिक्षक केशव थेवेले विभिन्न निकायसँगको सहकार्यबाट मात्र बालबालिकाको कानूनी पहिचानको मुद्दामा सही टुंगोमा पुग्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित बालबालिका तथा युवाले जन्मदर्ता र नागरिकता लिने काममा आफूले भोगेका समस्या र जीवनका आधारभूत सेवा सुविधाका लागि गर्नु परेका संघर्षका बारेमा बताएपछि सरकारी निकायका प्रतिनिधिहरुले समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा अगाडि बोल्दै कार्यक्रमका प्रमुख अतिथि, राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँले सेवाप्रदायक सरकारी कर्मचारीको क्षमता अभिवृद्धिमा काम गर्नुपर्ने अहिलेको अवस्था रहेको बताउनुभयो । बालबालिकाको मुद्दा एउटा मन्त्रालयको मात्रै नहुने भएकोले सबै सरोकारवालासँगको समन्वय आवश्यक रहेका भन्दै उहाँले यसतर्फ पहलकदमी थाल्ने बताउनुभयो । यही बर्ष सडकबालबालिका मुक्त राष्ट निर्माणको क्रममा रहेको भएकोले बालबालिकाको पारिवारिक पुनस्थापनामा पनि परिषद्ले मद्दत गर्ने परिषद्का उपाध्यक्ष बानियाँले बताउनुभयो ।









