साउन ३० गते २०८१, काठ्माडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले कान्ति बाल अस्पतालमा रहेको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइको अन्तरंग सेवाको समुद्घाटन गर्नुभएको छ । मन्त्री पौडेलले, एक कार्यक्रम बीच, १६ शैय्याको अन्तरंग सेवाको उद्घाटन गर्नुभएको हो । मन्त्री पौडेलले, अन्तरंग सेवा विभागको अवलोकन गरी, ईकाईबाट दिइंदै आएको टेलिमेडिसिन सेवाको जानकारी समेत लिनुभएको थियो । यसअघि यही बर्षको शुरुवातमा, लगनखेलस्थित मानसिक अस्पतालले, किशोरकिशोरी मानसिक स्वास्थ्य ईकाईको संचालन गरिसकेको छ । तर बालबालिकाको मानसिक स्वास्थ्योपचारलाई लक्षित गरेर अन्तरंग सेवा संचालनमा आएको भने यो पहिलो अवसर हो ।

सन् २०१५ को ठुलो भुइचालो पछि सिविन नेपालले, फोरुट नर्वेसँगको साझेदारी र कान्ति बाल अस्पतालको सहयोगमा, अस्पताल प्रांगण मै नेपालमा सबैभन्दा पहिलो बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य ईकाई संचालनमा ल्याएको हो । पछि फोरुट नर्वे र अरु साझेदार संघसंस्थासँगको सहकार्यमा सिविन नेपालले, अस्पताल प्रांगण मै छुट्टै भवनको निर्माण गरी, सन् २०२१ को जनवरीेदेखि बालबालिका तथा किशोरकिशोरीलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यही क्रममा आज अन्तरंग सेवाको पनि औपचारिक थालनी भएपछि पनि बालबालिकाको मानसिक स्वास्थ्य उपचारमा थप सहज बन्ने भएको छ ।