भदौं २७ गते २०८१, काठ्माडौं ।
पाँचथरमा भएको बम विस्फोटमा घाइते बालकहरुलाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ । साथै ज्यान गुमाएका बालबालिकाका परिवारलाई पाँच लाख रुपैंया राहत उपलब्ध गराउने समेत सरकारले निर्णय गरेको छ । गएको सोमबारको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । यसअघि स्वास्थ्य मन्त्री प्रदिप पौडेलले र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले कीर्तिपुर अस्पताल पुगी विस्फोटमा घाइते भएका दुई बालकको स्वास्थ्य उपचारबारे जानकारी लिनुभएको थियो । कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका दुबै घाइते बालकका हात, खुट्टा र शरीरमा भएका घाउहरुमा, गएको भदौ २४ गते छाला प्रत्यारोपण गरिएको थियो । अहिले दुबै बालकहरु खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्् ।

पाँचथरको पफालेलुङ्ग गाउँपालिका ५, प्राङबुङ्ग, डाँडागाउँमा बम विस्फोट हुँदा ७ र ११ बर्षका दुई बालक घाइते भएका थिए । घटनामा एकै परिवारका अढाई बर्षिय बालिका र ११ बर्षका बालकको ज्यान गएको थियो । विस्फोटमा परेका बालबालिकालाई सिविन नेपालको मोरङ्ग कार्यालयका संयोजक बासु अधिकारी र इन्सेकका प्रतिनिधिसहितको टोलीले उद्धार गरेको थियो । स्थानीय अस्पतालमा उपचारमा निक्कै ढिलासुस्ती भइरहेको अवस्थामा, उपचार जिम्मा लिंदै सिविन नेपालले बालकहरुलाई काठ्माडौं ल्याई कीर्तिपुर अस्पतालमा भर्ना गरेको थियो । फेक्ट नेपालबाट संचालित कीर्तिपुर अस्पतालले तत्काल बालकहरुको तत्काल उपचार थालेको थियो ।
यसैबीच, द्वन्द्व कालमा विछ्याइएको बमका कारण बालबालिकाको ज्यानमा भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गर्दै, ज्यान गुमाएका बालबालिकाका परिवारलाई क्षतिपुर्ति र घाइते बालकहरुको उपचारको जिम्मा लिनुपर्ने भन्दै सिविन नेपालले सरकारलाई निरन्तर दवाव दिंदै आइरहेको थियो । सिविन नेपालले, यो विषयमा विभिन्न राजनीतिक दलसँगै राष्ट्रिय मानव अधिकार आयोग समेतको ध्यानाकर्षण गराएको थियो । यसअवस्थामा घाइते बालबालिकाको स्वास्थ्य उपचारको जिम्मा लिंदै घटनामा ज्यान गुमाएका बालबालिकाको परिवारलाई क्षतिपुर्ति दिने सरकारको निर्णयको सिविन नेपालले स्वागत गरेको छ । साथै घटनाको निस्पक्ष छानविन र दोषी उपर कारवाहीको सिविन नेपालले सरकारसँग माग गरेको छ ।