असोज १४ गते २०८१, काठ्माडौं ।
विद्यालय तहको पाठ्यक्रम तथा शिक्षक निर्देशिकामा, अनलाइनमा बालसंरक्षणसम्बन्धी सामग्रीको मस्यौदा पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरिएको छ । कक्षा ६ देखि १२ सम्मको विद्यालयको पाठ्यक्रममा बालबालिकाको अनलाइन सुरक्षाको विषयवस्तु समेट्ने र शिक्षकहरुलाई पनि त्यही अनुरुपको तालिम उपलब्ध गराउने विषयमा तैयार पारिएको मस्यौदा आज एक कार्यक्रमबीच पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । मुलुकका विभिन्न क्षेत्रका सरोकारवालाहरु, बालबालिका तथा किशोरकिशोरी, नागरिक समाज संघसंस्थाहरुसँगको निरन्तर छलफल, बहस, परामर्श पछि विज्ञको टोलीले तैयार पारेको मस्यौदा सिविन नेपालका अध्यक्ष माधव प्रधानले केन्द्रका महानिर्देशक श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा, मस्यौदा तैयार पार्न बनेको टोलीको प्रतिनिधित्व गर्दै पाठ्यक्रम विकास केन्द्रका निर्देशक वासुदेव वस्तीले विद्यालय तहका पाठ्यक्रम तथा पाठ्यसामग्रीमा रहेका विषयवस्तुले बालबालिकालाई अनलाइनमा हुने संभावित यौनजन्य हिंसा र दुव्र्यवहारबाट सचेत राख्नुका साथै र अनलाइनमा हुनसक्ने कुनै पनि जोखिमको बारेमा जानकार बनाई अनलाइनमा असल आचरणको विकास गर्ने उद्देश्य रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा सहभागीहरुले मस्यौदामा थप समेटिन सकिने विषयहरुका बारेमा आआफ्ना विचार राख्नुभएको थियो । मस्यौदा हस्तान्तरणपछि बोल्दै केन्द्रका महानिर्देशक श्रेष्ठले, पाठ्यक्रममा कुनै पनि विषयवस्तु समेट्नु भनेको मुलुककै भोलीको जनशक्तिलाई दिशानिर्देश गर्नु भएको उल्लेख गर्दै अनलाइन सुरक्षाको विषयमा आएका सुझावहरुलाई आत्मसात गर्दै लाने जानकारी दिनुभएको छ । कार्यक्रममा केन्द्रीय बाल अधिकार समितिका उपाध्यक्ष बम बहादुर बानियाँले इन्टरनेटका नयाँ नयाँ आयाम र चुनौतीहरुलाई बालबालिकाकालागि सुहाउँदिलो तरिकाले पाठ्यक्रममा समेट्दै लानुपर्ने विचार व्यक्त गर्नुभयो । यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले भने बालबालिकालाई पाबन्दीमा राखेरभन्दा पनि उनीहरुलाई इन्टरनेट प्रयोगका सकारात्मक र नकारात्मक दुबै पक्षबारे जानकार बनाई अनलाइन सुरक्षाको बारेमा बुझाउनु पर्ने विचार राख्नुभयो । सूचना तथा संचार प्रविधि मन्त्रालयको राष्ट्रिय साइबर सुरक्षा केन्द्रका प्रमुख, राजकुमार महर्जनले अनलाइनको विषय निक्कै वृहत् भएको र यो विषयमा मस्यौदा तैयार पार्न निक्कै लामो प्रयास भएको स्मरण गर्नुभयो । कार्यक्रममा, सम्बन्धित सरकारी निकाय, नागरिक समाज संघ संस्था, किशोरकिशोरी, पत्रकार लगायतको सहभागिता रहेको थियो । सिविन नेपाल र TDH Netherlands को सहकार्यमा मस्यौदा तैयार पारी हस्तान्तरण गरिएको हो ।