मंसिर २६ गते, २०८१ ।
किशोरकिशोेरीलाई लक्षित यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलगायत जीवन उपयोगी सीप बारेको अनलाइन तालिम कार्यक्रम सम्पन्न भएको छ । महोत्तरी र सर्लाहीका ३० किशोरकिशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, असल र हानीकारक सम्बन्धका साथै बालविवाहको जोखिम, बालबालिका अप्ठ्यारामा पर्दा सहयोगका लागि उपलब्ध बालहेल्पलाइन नेपाल १०९८ लगायतका सरकारी संयन्त्रहरु बारे जानकारी गराइएको थियो । तालिम लिएका किशोरकिशोरीले आफुले तालिममा सिकेका कुरा बाल क्लब वा विद्यालयमा सिकाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको सिविन नेपालले जनाएको छ । राष्ट्रिय किशोर संजाल र राष्ट्रिय किशोरी संजालका नयाँ पुराना सदस्यहरुले दौतरी शिक्षकका रुपमा अनलाइनबाट आफूले जानेका ज्ञान सीप हस्तान्तरण गरेका हुन् । तीन दिने तालिम कार्यक्रमको अन्त्यमा सिविन नेपालका कार्यकारी निर्देशक कुमार भट्टराईले आफूले सिकेका ज्ञान र सीप समुदायका अरु किशोरकिशोरीलार्ई पनि हस्तान्तरण गर्न हुन सहभागीहरुलाई आग्रह गर्नुभयो । राष्ट्रिय किशोर संजालका अध्यक्ष घनश्याम विश्वकर्माले जीवनोपयोगी सीपले सहभागी किशोरकिशोरीकालागि प्रभावकारी भएको विश्वास व्यक्त गर्नुभयो । सेभ ड चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक पुस्कर काफ्लेले महोत्तरी र सर्लाहीका स्थानीय संस्थाहरुसँग समन्वय गरी किशोरकिशोरीलाई दौतरी शिक्षकका रुपमा समुदायमा जान सहयोग गर्न सकिने विचार व्यक्त गर्नुभयो । यसैक्रममा सिविन नेपालका परियोजना सहव्यवस्थापक निरिजना भट्टले किशोरकिशोरीले तालिममा सिकेका सीपले समुदायका अरु किशोरकिशोरीले समेत लाभान्वित हुनसक्ने विचार व्यक्त गर्नुभयो । सेभ ड चिल्ड्रेनको सहयोगमा सिविन नेपालसँगको सहकार्यमा राष्ट्रिय किशोरी संजालले तालिम कार्यक्रमको आयोजना गरेको हो ।

