सिविन–नेपाल
बालबालिकाका लागि बालबालिकाका साथमा

परिचय,

बालअधिकारको संरक्षण र सम्वद्र्धनका लागि क्रियाशील नेपालको अग्रणी सामाजिक संस्था सिविन–नेपाल, देशकै पहिलो बालअधिकारमुखी संस्थाका रुपमा सुपरिचित छ । बालबालिकाका सन्दर्भमा नवीन सोच र चिन्तनकासाथ लोकतान्त्रिक आन्दोलनमा क्रियाशील पाँचजना विद्यार्थीहरुद्वारा सन् १९८७ मा स्थापित यस संस्थाले नेपालमा बालअधिकार आन्दोलनको बिजारोपण गर्नुका साथै निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गरिआएको छ ।
बालबालिका असाहय र निरिह हैनन्, उचित वातावरण पाए भने समाज परिवर्तनका सम्वाहक हुन् भन्ने मान्यतामा अडिग सिविनले बालबालिकाका लागि मात्र हैन उनीहरुसँगसँगै पनि बालअधिकार प्रवद्र्धनका लागि काम गरिरहेको छ । यसर्थ बालबालिका हाम्रा लागि सेवाग्राही मात्र हैनन् महत्वपूर्ण साझेदार पनि हुन् । हामी बालबालिकाको सशक्तीकरण र समावेशीकरणमा विश्वास गर्दछौं । यसरी बालबालिका स्वयम्, नागरिक समाज तथा अन्य सरोकारवालाहरुसँगको साझेदारीमा बालबालिकाको स्तर माथि उठाउन सिविनले सहजीकरण गर्दै आइरहेको छ ।
स्थापना पछिको तीन दशकमा सिविनले आफ्ना विभिन्न गतिविधिहरु मार्फत दश लाख भन्दा बढी बालबालिकालाई उद्दार, संरक्षण, पुनस्र्थापन तथा शिक्षा लगायतका सेवाहरु उपलब्ध गराएको छ । बालसहभागिताका क्षेत्रमा पनि सिविनको योगदान उल्लेख्य रहँदै आएको छ । बालबालिकाको सहभागिता फगत देखाउनका लागि मात्र नभई विकासको प्रक्रियाका रुपमा उनीहरुको सार्थक उपस्थिति हुनु पर्दछ र सिविनले यस कुरालाई व्यवहारमा ल्याइरहेको छ ।

सिविनको निरन्तरको इमान्दार प्रयासबाट कुनै चर्चाको विषय नरहेको बालअधिकारको विषयलाई आमसरोकारको राष्ट्रिय मुद्धाका रुपमा रुपान्तरण गर्न महत्वपूर्ण योगदान पुगेको छ । पछिल्लो तीन दशकमा नेपाली बालबालिकाको पक्षमा थुप्रै असल अभ्यासहरुको थालनी र सकरात्मक परिवर्तनहरु भएका छन् । राष्ट्रिय नीति तथा कानुनहरु अन्तरगत राज्यका विभिन्न तहहरुमा बालसंरक्षणका लागि संरचनाहरु निर्माण भएका छन् र बालअधिकारको मुद्धाले नेपालको सामाजिक विकासको परिप्रेक्षमा महत्वपूर्ण स्थान लिएको छ । अझ महत्वपूर्ण त नेपालको संविधान (२०७२) ले बालअधिकारलाई बालबालिकाको मौलिक हकका रुपमा स्थापित गरेको छ । यतिका उपलब्धीहरु हासिल भएर पनि देशका हरेक बालबालिकाको आधारभूत बालअधिकार सुनिश्चित गर्ने सन्दर्भमा अझ पनि थुप्रै चुनौतीहरु विद्यमान रहेका छन् । भएका कानुन तथा नीतिहरुको कार्यान्वयन नहुनु, गुणस्तरीय सार्वजनिक शिक्षामा पहुँच नहुनु, बाल गरिबी र बालबालिकाको शारीरिक, मानसिक तथा यौन शोषण लगायत विभेदकारी सामाजिक व्यवहार जस्ता विकृतिहरु समाजमा अझ पनि कायम् रहनु चुनौतीपूर्ण पक्षहरु हुन् । यी सबै चुनौतीहरुलाई चिर्नका लागि हामीले हाम्रा प्रयासहरुलाई थप सशक्त बनाउनु पर्दछ र विशेषगरी जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको आवश्यकताहरुलाई सम्बोधन गर्न हामी थप सम्वेदनशील बन्नु पर्दछ ।