काठ्माडौं ५ गते, २०७५ ।

बरिष्ठ मानवअधिकारकर्मी तथा भाषा आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको ४५ औं दिनको पुण्य को दिन पारेर सिविन नेपालको प्रांगणमा भेला भएका नागरिक समाजका अगुवा तथा मानवअधिकार आन्दोलनका अगुवाले तुलाधरको योगदानको स्मरण गरेका छन् । पद्मरत्न तुलाधर आवद्ध रहनुभएका संस्थाहरु सिविन नेपाल, फ्रेन्ड्स्् फर पीस र मानवअधिकार संरक्षण मंचले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका बक्ताहरुले आफ्नो जीवनकालमा उहाँले मानवअधिकार स्थापना, जनजाती उत्थान आन्दोलन अनि भाषा आन्दोलनमा गर्नभएको संघर्षका बारेमा उल्लेख गर्नुभयो ।
मानवअधिकार संरक्षण मंचका उपाध्यक्ष कुलचन्द्र घिभिरेले कार्यक्रममा उपस्थित भएकालाई स्वागत गर्दै जनआन्दोलनको निकासकालागि पद्मरत्न तुलाधरले गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।
यसैगरी, मानवअधिकार आयोगका पूर्व आयुक्त तथा सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले, मानवअधिकार आन्दोलनमा पद्मरत्न तुलाधरले युवाका लागि खेल्नुभएको प्रेरणादायी भूमिकालाई सम्झनुभयो ।
यसैगरी नागरिक आन्दोलनका अगुवा पूर्णशोभा चित्रकारले पंचायत कालमा आफ्नै मातृभाषा प्रयोगमा प्रतिवन्ध लागेको समयमा टोलटोलमा विभिन्न समूहको स्थापना गरी भाषा आन्दोलनलाई सक्रिय राख्न गर्नुभएको प्रयासबारे बताउनु भयो ।
पद्मरत्नका सहकर्मी, वरिष्ठ मानवअधिकारकर्मी दमन नाथ ढुंगानाले मानवअधिकार आन्दोलन, महिला आन्दोलन, भाषा आन्दोलन, जनजाती आन्दोलन लगायतका विभिन्न आन्दोलनमा पद्मरत्न तुलाधरको अमिट छाप रहेको र उहाँको योगदान विना ती आन्दोलनको कुनै अस्तित्व नरहने टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रलाई राष्ट्र जस्तो र मानिसलाई मानिस जस्तो बनाउन गर्नु भएको प्रयासलाई युवाले प्रेरणाका रुपमा लिएर अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा मानवअधिकार संरक्षण मंचका कोषाध्यक्ष पद्म प्रसाद खतिवडा, बालअधिकार कर्मी तिलोत्तम पौडेल, मानवअधिकार महाभेलाका २०७५ संयोजक नरेन खतिवडा तथा केन्द्रिय बाल कल्याण समितिका पूर्व कार्यकारी निर्देशक तारक धिताल, सामाजिक अभियन्ता शान्तलाल मुल्मी, गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष शर्मिला कार्कीलगायतले पद्मरत्न तुलाधरले विभिन्न क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्नुभयो ।