बैशाख ८ गते, काठ्माडौं , विराटनगर ।

विराटनगर कटहरीस्थित ईंटाभट्टाबाट ६ बाल श्रमिकको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र सिविन नेपाल विराट नगरको टोलीले कटहरी गाउँपालिका ५ स्थित प्रमाण ईंटाभट्टामा काम गर्ने ६ बालकको उद्धार गरेको हो । उद्धार गरिएका बालकलाई पुर्वाञ्चल अनाथाश्रम लगिएको सिविन नेपाल मोरङका बासु अधिकारीले जानकारी दिनुभएको छ ।
उद्धार गरिएका मध्ये ५ बालक भारतका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारत कुछविहारका १६ बर्षिय रुबेल मियाँ, भारत छितेही बंगालका १६ बर्षिय कासनकुमार विश्वास, शितलखोशीका १४ बर्षिय काउछल आलम, बंगाल गोलेनाहाटीका ११ बर्षिय रुबेल मियाँलगायतलाई अनाथाश्रम लगिएको हो । मोरङ भौडाहाका १३ बर्षिय मोहन सरदारका भने आमाबुबा दुबै त्यही ईंटा भट्टामा काम गर्ने भएकाले अभिभावकलाई बोलाएर सचेत बनाइने प्रहरी नायब उपरिक्षक घनश्याम श्रेष्ठले बताउनु भयो ।
बालश्रम प्रयोग गरेका भट्टा संचालक फणिन्द्र बहादुर ढकाललाई प्रहरीले कारवाहीका लागि श्रम तथा रोजगार कार्यालय विराटनगरलाई बुझाएको छ ।