जनकपुर, फागुण १४ गते, २०७५ ।

जनकपुरमा, बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारबारे चिकित्सक र अरु स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । तालिममा मानसिक स्वास्थ्य समस्या भएका बालबालिका र किशोरकिशोरीको स्वास्थ्य उपचारका तरिका, औषधीको प्रयोग, विरामीसँग गरिने ब्यवहारका साथै अभिभावकलाई आवश्यक मनोशिक्षालगायतको विषयमा तालिम दिइएको थियो ।
यसक्रममा, विरामीलाई आवश्यक स्याहार, मनोविमर्शका साथै चिन्ता र तनाव ब्यवस्थापनका लागि अपनाउन सकिने तरिकाका बारेमा तालिमका सहभागीलाई जानकारी गराइएको थियो । तालिममा बालबालिका र किशोरकिशोरीसँग सम्बन्धित सामाजिक समस्याका बारेमा पनि छलफल गरिएको थियो ।
जनकपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट नागेन्द्र यादवले थप स्वास्थ्यकर्मीका लागि पनि तालिम आवश्यक भएको उल्लेख गर्नु भएको थियो । प्रदेश नम्बर २ अन्तर्गत स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले तालिम कार्यक्रमलाई प्रदेशमा अझ ब्यापक बनाउन तीनै तहको सरकारले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनु भयो ।
प्रदेश नम्बर २ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका निर्देशक, चिकित्सक प्रमोद यादवले जिल्लाका १७ वटै पालिकामा तालिम कार्यक्रम पुर्याउन आफ्नो कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
सिविन नेपाल र युनिसेफको सहकार्यमा भएको कार्यक्रममा मनोचिकित्सक अरुण राज कुँवर, गुञ्जन ध्वज, पशुपति महतसँगै क्लिनिकल मनोविज्ञ सृजना अधिकारीले तालिम दिनुभएको हो ।

http://www.paricharchanews.com/archives/11028