विराटनगर, २५ चैत । बालवालिकाको संरक्षणमा स्थानीय तहको नीति तथा कार्यक्रमबारे सरोकारवालाहरूबीच सोमबार अन्तरसम्वाद गरिएको छ । विराटनगरमा आयोजित सम्वादको उद्घाटन प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेलले गरिन् ।

उपसभामुख पोखरेलले हरेक क्षेत्रमा बनेका नीतिहरूको समिक्षा गर्नुपर्ने बेला आएको बताउँदै सामाजिक संघसंस्थाहरूले मानवीय विकासका क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिइन् ।

बालबालिकालाई राम्रो शिक्षा र स्वास्थ्यको सुविधा दिन नसकिए समृद्ध नेपाल निर्माण नहुने बताइन् । त्यसका लागि सामाजिक संघसंस्थादेखि सरकारसम्म सवै क्षेत्र जिम्मेवार हुनुपर्ने धारणा राखिन् ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बाल संरक्षणका लागि सवै स्थानीय तहहरूबाट प्रतिवद्धता आउनु पर्ने बताए । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालले बालबालिकाहरू गरिवी र उचित शिक्षाको चपेटामा रहेको बताए । उनीहरूको सर्वोत्तम हितका लागि राज्यले आवश्यक नीति निर्माण गरिरहेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अघिकारी, गैसस महासंघका सचिव लखनलाल साह लगायतले बाल संरक्षणका सवालमा सरकारी तथा गैरसरकारी क्षेत्रको थप जिम्मेबारीबारे चर्चा गरे ।

कमिक रिलिफको सहयोग तथा प्रदेश १ को सामाजिक विकास मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा सिविन नेपालका कार्यक्रम व्यवस्थापक भरत अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मोरङ, सुनसरी र झापाका स्थानीय तहका जनप्रतिनिधि, बाल अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्था, नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो ।

 

साभार: www.udghoshdaily.com