बैशाख २२ गते, २०७६ ।

चन्द्रागिरी नगरपालिकालाई बाल अधिकार सम्पन्न र बाल संरक्षण सुनिश्चित भएको नगरका रुपमा विकास गर्न सिविन नेपाल र नगरपालिकाबिच दुई पक्षिय समझदारी पत्रमा हस्ताक्षर भएको छ । सिविन नेपालको केन्द्रिय कार्यालय रवि भवनमा भएको कार्यक्रममा, आठ बुँदे समझदारी पत्रमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सिविन नेपालका अध्यक्ष माधव प्रधानले हस्ताक्षर गर्नुभएको हो ।
बालबालिकासम्बन्धि नीति तत्काल निर्माण गर्ने, बालश्रम निवारणसम्बन्धि रणनीति तत्काल तैयार गर्ने, जोखिमपुर्ण अवस्थाका बालबालिकालाई तत्काल सहयोग दिन आपत्कालिन बालकोष खडा गर्ने लगायतका बुँदाहरु सहमतिपत्रमा समावेश छन् ।
“चन्द्रागिरी नगरपालिकामा ईंटा भट्टा, यातायात क्षेत्र, होटल, खाजा घर र अरु पर्यटनसँग सम्बन्धित ब्यवसायहरुमा बालश्रम प्रयोग भइरहेका छन् । यस सन्दर्भमा सिविन नेपालको सहयोगमा,नेपाल सरकारको मापदण्ड अनुसार, नगरपालिकाको बालअधिकारसँग सम्बन्धित कार्यविधि अनुरुप काम गर्छौ‌”, मेयर घनश्याम गिरीले बताउनुभयो ।
चन्द्रागिरीलाई बालअधिकारका दृष्टिकोणले विकास गरी अरु नगरपालिकामा पनि यहाँका असल अभ्यासलाई लागु गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो ।