मंसिर ४ गते २०७६, काठ्माडौं ।

नेपालमा बालबालिकाको जन्मदर घट्दो अवस्थामा रहेको नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन २०७६ ले देखाएको छ । ३० औं अन्तराष्टिय बाल अधिकार दिवसको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालमा बालबालिकाको जन्मदर घट्दो रहेको उल्लेख गरिएको छ । बीस बर्ष अघि नेपालको जनसंख्याको जम्मा १४.६५ प्रतिशत ५ बर्षभन्दा मुनिका बालबालिका रहेकोमा अहिले त्यो प्रतिशत ९.६९ प्रतिशतमा झरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्टिय बालअधिकार परिषद्ले आयोजना गरेको कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक चन्द्र कुमार घिमिरेले प्रतिवेदनको संक्षेप प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बालअधिकार अभियन्ता तथा राष्टिय मानवअधिकार आयोगका पुर्व आयुक्त गौरी प्रधानले अबको समयमा समृद्ध नेपाल सुखी नेपाली नारामा बालबालिका कहाँ निर अटाएका छन् भन्ने खोजी गर्ने बेला भएको टिप्पणी गर्नु भयो । अहिले बाल अधिकार स्थापनाको जिम्मेवारी स्थानिय तहमा आएको हुनाले मुलुकका ६, ६८४ वटै वडाले लागेमा मुलुकमा बालबालिकाको अवस्थामा सुधार ल्याउन सकिने विश्वास ब्यक्त गर्नु भयो ।
महिला आयोगका सजिव दिपेन्द्र काफ्लेले, स्थानिय तहसँग मिलेर बालबालिका लक्षित कार्यक्रम दुर्गमसम्म पुर्याउनु पर्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले कार्यक्रम समापन गर्दै सहभागिहरुले औंल्याएका कमिकमजोरीलाई सम्बोधन गर्न अर्को बर्षको प्रतिवेदनको ढाँचानै परिवर्तन गरिने बताउनुभयो । उहाँले मुलुकमा अहिले बालमृत्युदर कम भएको र शिक्षामा बालिकाको पहुँच बढेको जस्ता तथ्यले बालबालिकाको समग्र अवस्थामा सुधार आइरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सहभागिहरुले प्रतिवेदनले अहिले सबैभन्दा चिन्ताजनक विषयका रुपमा अगाडि आएका विदेशीबाट भइरहेका बालयौन दुब्र्यवहार, बालश्रम र धर्म सन्तानका रुपमा बाहिर गएका बालबालिकाको अनुगमन र यथास्थितिबारे प्रतिवेदनले नसमेटेको टिप्पणी गरेका थिए ।

Photo by: NCRC