म‌ंसिर १८ गते २०७६, काठ्माडौं ।

बालबालिकाको मानसिक स्वास्थ्य संरक्षण र प्रवद्र्धनमा सरोकारवालाको भूमिका खोज्न भएको परामर्श र अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले मानसिक स्वास्थ्य समस्यालाई आजको समयमा राष्टिय संकटका रुपमा हेरिनु पर्ने अवस्थमा ठम्याएका छन् । बाल मनोचिकित्सक डा अरुण कुँवरका अनुसार आर्थिक बर्ष २०१८-२०१९ मा मात्रै झण्डै ६ हजार जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा पनि ८ प्रतिशतको हाराहारीमा १८ बर्ष मुनिका रहेकोले नेपालमा मानसिक स्वास्थ्यलाई अझ प्राथमिकताका साथ हेरिनु पर्ने उहाँको विचार थियो ।

जवाबमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह सचिव राजेन्द्र पौडेलले, सरकारले कहाँ निर कस्तो काम गर्न जरुरी भनेर यही क्षेत्रमा काम गरेकाबाट जानकारी भए अगाडि काम गर्न सजिलो हुने बताउनुभयो । यसमा पनि बालबालिकाको मानसिक स्वास्थ्य सम्बोधनको विषयमा विभिन्न मन्त्रालय र अरु निकायबिच आवश्यक सहकार्य नभइरहेको पनि उहाँले स्वीकार्नु भयो ।
सिविन नेपाल र कोशिशले संयुक्त रुपमा आयोजना गरेको परामर्श तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले, मानसिक अपांगता भएका बालबालिकाकालागि कम्तिमा पनि दिवा सेवाको ब्यवस्था सरकारी तवरबाट हुनुपर्ने विचार राख्नु भयो । सँगै मानसिक समस्या भएका बालबालिकाकालागि मात्रै होइन उनीहरुका अभिभावककालागि पनि तालिम र अरु सहयोगको ब्यवस्था भएमा त्यसले मानसिक स्वास्थ्य समस्या सम्बोधनमा अझ सहज हुने सहभागिको विचार थियो ।