मंसिर २२ गते २०७६, पनौती ।

पनौती नगरपालिकाको वडा नम्बर १० का विभिन्न विद्यालयमा अध्ययन गर्ने किशोरकिशोरी तथा सिविन बालिका गृहमा रहेका किशोरीलाई ३ दिने जीवन उपयोगी सिप सम्बन्धि तालिमको आयोजना गरिएको छ । पनौती नगरपालिकाको वडा नम्बर १० कार्यालय, सिविन नेपाल र सिविन बालिका गृहले संयुक्त रुपमा आयोजना गरेको तालिम कार्यक्रम दुई समूहमा संचालन गरिएको आयोजक समूहकी भगवती श्रेष्ठले जानकारी दिनुभयो । ३८ किशोरकिशोरी रहेको दोश्रो समूहलाई मंसिर २२, २३ र २४ गते तालिम दिइंदैछ भने पहिलो समूहका ३३ किशोरकिशोरीलाई गएको मंसिर १८, १९ र २० गते तालिम दिइएको थियो । दुवै समूहमा १३ देखि १९ बर्ष समूहका किशोरकिशोरी सहभागी छन् । तालिममा दैनिक जीवनमा सकारात्मकता ल्याउन गर्न सकिने कामसँगै किशोरकिशोरीका शारीरिक, मानसिक र भावनात्मक विकासका बारेमा जानकारी गराइएको थियो । तालिममा यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित विषयमा समेत जानकारी  दिइएको थियो ।