मंसिर २९ गते २०७६, नेपालगंज ।

धेरै पैसा कमाउन र पेट भर्न भन्दै भारत तर्फ जानलागेका १९ बालकलाई परिवारसँग पुनर्मिलनका लागि जुम्ला फर्काइएको छ । जुम्लाको सिंजा गाउँपालिका ३ बाट भारतमा काम गर्न जानलागेका दुई युवाको पछि लागेर १९ बालकहरु भारततर्फ जान लाग्दा जमुनाह नाकाबाट बाँके प्रहरीले उद्धार गरेको हो । उद्दार गरिएका बालक ९ देखि १७ बर्षका रहेको सिविन नेपालगंजका संयोजक सिद्धराज पनेरुले जानकारी दिनुभएको छ । लगतै, बालकहरुलाई सिविन हेल्पलाइन नेपालगंजमा मनोपरामर्श दिइएको थियो । उद्दार गरिएका धेरैलाई बालश्रमको बारेमा जानकारी नभएको हेल्पलाइनका वरिष्ठ कार्यक्रम ब्यवस्थापक आशारानी श्रेष्ठले बताउनु भएको छ । उनीहरुमध्ये केही पहिलेपनि पैसा कमाउन भारत गइसकेको र केही भने ठूलाको लहैलहैमा पैसा कमाउन विदेशिन लागिएका थिए । मनोपरामर्शपछि बालकहरुलाई बाँके प्रहरीको महिला सेलको सक्रियतामा जुम्ला फर्काइएको हो ।