माघ २ गते २०७६, मकवानपुर ।

मकवानपुरको बकैया गाउँपालिका वडा न ५ र ७ मा एकै दिनमा २ वटा बालविवाह रोकिएका छन् । बालहेल्पलाइन १०९८ को पहलमा बडा कार्यालय र हात्तीसुडे प्रहरी चौकीको सहयोगमा बालविवाह रोकिएका हुन् ।
बकैया वडा न ५ मा आफ्नै परिवारबाट बालविवाह गरिदिन लागेको भनी किशोरीले बालहेल्पलाइन १०९८ मा गरेको उजुरीका आधारमा हेल्पलाइन, प्रहरी, बालमैत्री सहजकर्ता लगायतको टोलीले बालविवाह रोकेको हो । विवाह रोकिसकेपछि टोलीले, स्थानियलाई बालविवाहका नकारात्मक असर र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराएको थियो । बालिकाका बाबुले छोरीको २० बर्ष पुगेपछि मात्रै विवाह गरी दिने र उनको पढाईलाई निरन्तरता दिने, समाज सामु प्रतिवद्धता जनाएका थिए ।

यस्तै, वडा न ७ मा १७ वर्षिय किशोर र १६ बर्षिया किशोरीबीच हुन लागेको बालविवाह रोकिएको हो ।
दुवै पक्षलाई २० वर्ष उमेर नपुगी, किशोरकिशोरीको विवाह नगर्ने प्रतिवद्धता लिएर छोडिएको बालहेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ । दुबै किशोरकिशोरीलाई पढाइमा निरनत्रता दिन वडा कार्यालयले सहयोग गर्ने वडा अध्यक्ष रामकाजी लामिछानेले बताउनु भयो ।

बालविवाहका दुबै मुद्दामा किशोरीले कक्षा ८ को पढाईलाई निरन्तरता दिन नसकेको अवस्थामा बाँकी रहेको शिक्षा पुरा गर्न दिने बारे सम्बन्धित विद्यालयसँग समन्वय भइरहेको हेल्पलाइन मकवानपुरले जनाएको छ ।
हाल दुबै बालिकाहरुलाइ आवश्यक परामर्शको लागि बालहेल्पलाइन हेटौंडाको संरक्षणमा राखिएको छ ।