माघ ९ गते, गण्डकी।

गण्डकी प्रदेशका, विभिन्न जिल्लाका स्थानिय निर्वाचित प्रतिनिधिले आआफ्ना क्षेत्रमा हुने कार्यक्रममा लैंगिक समानताका लागि पुरुष सहभागिता खोज्ने विषयमा छलफल थालेका छन् । गण्डकी प्रदेशको कास्कीमा भएको लैंगिक हिंसा विरुद्ध पुरुष सहभागिता रणनीति २०७५ तथा बालसंरक्षण विषयमा भएको प्रदेश स्तरिय अन्तक्र्रिया कार्यक्रममा उपस्थित प्रदेशका झण्डै सबै जिल्लाका प्रतिनिधि सहभागी भेलाले लैंगिक हिंसा अन्त्यका लागि हुने कार्यक्रमहरुमा पुरुष सहभागिताका सम्भावना बारे छलफल गरेका हुन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा सिविन नेपालको सहयोगमा भएको कार्यक्रममा सिविन नेपालका कार्यकारी सुम्निमा तुलाधरले कार्यक्रमको आवश्यकता र औचित्यबारे प्रष्ट पार्नुभएको थियो ।
मन्त्रालयका तर्फबाट सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले लैंगिक समानताका लागि प्रदेश सरकारले अहिलेसम्म गरेका कार्यक्रम र अगाडिका योजना बारे जानकारी दिनुभएको थियो ।
मन्त्रालयका सचिव डिल्लीराम शर्माको सभापतित्वमा भएको कार्यक्रममा सिविन नेपालद्धारा संचालित बालहेल्पलान नेपालका कार्यक्रम ब्यवस्थापक भरत अधिकारीले नेपालमा बालकमाथि भएका लैंगिक हिंसा, बालकहरुले व्यहोर्ने विभिन्न खाले जोखिम र बालकका सुरक्षालगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी, सिविन नेपालका वरिष्ठ परियोजना प्रमुख धु्रव राज गौतमले पुरुष सहभागिताको अवधारणा, नेपालमा लैंगिक हिंसा अन्त्यका लागि भएका गतिविधि र नेपाल सरकारको रणनीतिबारे प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा समाजिक विकास मन्त्री नरदेवी पुन मगरले लैंगिक हिंसा अन्त्य र पुरुष सहभागिताकालागि ठाउँ र क्षेत्र सुहाउँदो सम्भावनाहरु खोज्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक चन्द्रा गुरुडले, प्रदेशमा लैंगिक हिंसा अन्त्यका लागि नागरिक संघसंस्थासँगै मिलेर प्रहरीले सक्रियता बढाएको बताउनुभयो ।
कार्यक्रमपछि सहभागी अधिकांश स्थानिय प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा हिंसा अन्त्यका लागि पुरुष सहभागिता समेत्ने विषयमा प्रतिवद्धता समेत जनाएका छन् ।