माघ २१ गते २०७६, दोलखा ।

७२ सालको ठूलो भुइचालोले ध्वस्त बनेका सामुदायिक विद्यालय भवन निर्माणको क्रममा दोलखामा थप एउटा विद्यालय समुदायलाई हस्तान्तरण गरिएको छ । दोलखामा एक कार्यक्रमबीच, बाबरेको जालपाश्वरी माध्यमिक विद्यालय समुदायलाई हस्तान्तरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्ण वहादुर पाण्डेको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बागमति प्रदेशका सभासद् विशाल खड्का हुनुहुन्थ्यो ।
कार्यक्रममा विद्यालयका प्रधानअध्यापक युवक पाण्डेले, सम्पूर्ण विद्यालय निर्माणमा १ करोड ९० लाख रुपैंया खर्च भएको जानकारी गराउनुभयो ।सभासद् खड्काले, विद्यालय भवन निर्माण पछि अबको प्राथमिकता गुणस्तरिय शिक्षामा हुनुपर्ने टिप्पणी गर्नुभयो । साथै बाबरे क्षेत्रका विद्यालयमा आधुनिक शिक्षाकालागि बजेट छुट्याउने विषयमा पहल थाल्ने पनि सभासद् खड्काले प्रतिवद्धता जनाउनु भयो ।
यसैगरी, कार्यक्रममा अतिथि कालिन्चोक गाउँपालिकाका प्रमुख बिन कुमार थामीले सरकारीस्तरबाट शिक्षा कार्यालयले विद्यालय निर्माण गर्नुपर्नेमा निजीस्तरबाट विद्यालय निर्माणमा सहयोग गरेको भन्दै यसलाई निक्कै सह्रायनिय कामका रुपमा ब्याख्या गर्नुभयो । गाउँपालिका प्रमुख थामीले, अगाडीका दिनमा विद्यालयमा शिक्षाको गुणस्तर उकास्न गाउँपालिकाका तर्फबाट सहयोग गर्ने बताउनुभएको विद्यालय पुनःनिर्माण परियोजनाका ब्यवस्थापक सुजन सुवेदीले जानकारी दिनुभएको छ ।
७२ सालको भुइचालोले भत्काएका विद्यालयहरु मध्ये सिविन नेपालले, फोरुट नर्वेको सहयोगमा दोलखामा, पहिलो चरणमा १२ वटा विद्यालय पुनः निर्माण गरिरहेको छ । यसमध्ये जाल्पेश्वरी माध्यमिक विद्यालयसहित ७ वटा विद्यालय समुदायलाई हस्तान्तरण गरिसकिएको छ । आउने दुई महिनाभित्र बाँकी ५ वटा विद्यालय पनि समुदायलाई हस्तान्तरण गरिसकिने, परियोजनाका ब्यवस्थापक सुवेदीले जानकारी दिनुभयो ।
दोश्रो चरण अन्तर्गत दोलखामा थप १० वटा विद्यालय निर्माणधिन अवस्थामा छन् ।