कार्तिक २७ गते २०७७, काठ्माडौं ।
लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्रालयको नेतृत्व तथा बाल सहभागीतामा कार्यरत संस्थाहरुको साझा समुह (कन्सोर्टियम नेपाल) र सिविन नेपालको प्राविधिक सहयोगमा लुम्बिनी प्रदेश बाल सहभागीता सम्बन्धि कार्यबिधि २०७७ को अन्तिम मस्यौदा सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री श्री सुदर्शन बरालको उपस्थितिमा औपचारिक रुपमा आज हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयको महाशाखाको प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, प्रदेश स्तरिय बाल क्लब संजालका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै माननीय मन्त्री बरालले बाल सहभागीता सम्बन्धि कार्यबिधिको मस्यौदालाई मन्त्रालयका सम्बन्धित व्यक्तिहरुसँगको सल्लाहमा छिटैनै अन्तिम रुप दिने जानकारी गराउनु भयो । बालबालिकाको सहभागीतालेनै बाल बालिकाको क्षमता अभिबृद्धि हुने, उनिहरुको अवस्थाको मुल्यांकन हुने र प्रदेशमा बाल सहभागीताको अधिकारलाई स्थापित गर्ने कुरामा कुनै पनि कसर बाँकी नराख्ने कुरामा पनि मन्त्री बरालले जोड दिनु भयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा सिविन नेपालका कार्यक्रम निर्देशक कुमार भट्टराईले प्रस्तुत बाल सहभागीता सम्बन्धि कार्यबिधिले बिगतमा प्रदेशमा भएका बाल सहभागिताका राम्रा अभ्यासहरुलाई निरन्तरता दिने र परिवर्तित सन्दर्भमा बाल सहभागिता प्रबद्र्धन गर्न प्रदेश सरकारको दायित्व सरोकारवाला निकायहरुको जिम्मेवारी के रहन्छ भनि सबैलाई सहजिकरण गर्न मद्दत गर्न सक्नेछ भनि बिश्वास लिएका कुरामा पनि जोड दिनु भयो ।