माघ ३० गते २०७७, काठ्माडौं।

अनलाइनमा बालबालिकाको सुरक्षाकालागि आवश्यक नीति निर्माणदेखि सचेतनासम्मका लागि काम गर्ने उद्देश्यले बनेको कार्यसमूहलाई पुनर्जागृत गरिएको छ । सन् २००८ मा अनलाइनमा बालबालिकामाथि भइरहेका हिंसा र दुव्र्यवहारलाई सम्बोधन गर्न सरकार, नागरिक समाज, सामाजिक संघसंस्थासहितको कार्यसमूहलाई एक उच्च स्तरिय बैठकबस्दै पुनर्जागृत गरिएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, कानूनविद्, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक, गुड सेफर्ड इन्टरन्यास्नल फाउन्डेसन र सिविन नेपालका प्रतिनिधिसहितको बैठकले यो कार्य समूहलाई फेरी सक्रिय बनाउने निर्णय गरेको हो ।
नेपालमा अनलाइनमा बालबालिकामाथि भइरहेका हिंसा र दुव्र्यवहार बारे रिपोर्ट २०२० केही दिन अघि सार्वजनिक गरिएको थियो । सिविन नेपालले गुड सेफर्ड इन्टरन्यास्नल फाउन्डेसनसँगको सहकार्यमा सन् २०१९ र २० मा अनलाइनमा बालबालिकाको अवस्था अध्ययन गरेर सार्वजनिक गरिएको रिपोर्टमा बालबालिकालाई अनलाइनमा सुरक्षित राख्नकालागि तत्काल कदम चाल्नुपर्ने देखिएपछि उच्चस्तरिय बैठक बसेको हो । बैठकले, बालबालिकासम्बन्धि ऐनमा भएका ब्यवस्था र सुधारगर्न सकिने धाराहरुका बारेमा छलफल गरेको थियो । साथै कार्यसमूहमा शिक्षा मन्त्रालयसँगै अरु सम्बन्धित निकाय र अरु सरोकारवालालाई समेत सहभागी गराएर तत्काल काम थाल्नेबारे पनि बैठकमा छलफल भएको थियो ।