भाद्र १३ गते २०७८, मकवानपुर ।
मकवानपुरको बकैया गाउँपालिकामा बालबालिका र किशोरकिशोरीलाई मानसिक स्वास्थ्यसम्बन्धि जानकारी दिन तथा आत्महत्या रोकथामको विषयमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । कान्ति बाल अस्पतालको बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य विभाग र सिविन नेपालले बकैया गाउँपालिकासँग मिलेर एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । कोभिड १९ को कारणले बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मानसिक स्वास्थ्य समस्यासँगै बढ्दो आत्महत्या बारे सचेतिकरणको उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले जानकारी गराउनु भयो । बकैया गाउँपालिकाका १२ वडा वडाहरु मध्ये ८ वटा वडाका बाल क्लवका प्रतिनिधि, पालिकास्तरीय बालक्लव संजालका प्रतिनिधि, किशोरकिशोरी समुहका सदस्यहरु, महिला स्वयमसेविका, शिक्षक, बालमैत्री सहजकर्ता, जनप्रतिनिधि तथा सामाजिक विकास शाखा प्रमुख सहित ४३ जनाको सहभागिता रहेको बालहेल्पलाइन मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
कार्यक्रममा मानसिक स्वास्थ्य समस्या, मानिसले भोग्ने क्षणिक तथा दीर्घकालिन नैराश्यता र यसको समाधानकालागि गर्न सकिने कामहरुबारे कान्ति बाल अस्पतालका बालबालिका तथा किशोर किशोरी मनोचिकित्सक डा. गुञ्जन ध्वजुले जानकारी दिनुभएको थियो । पछिल्लो समयमा बालबालिकाहरु बोल्न शुरु गर्नु पर्ने उमेरमा राम्रोसँग नबोल्ने, एकोहोरो हुने, छिटो रिसाउने, झर्किने जस्ता समस्या लिएर कान्ति बालअस्पतालमा आउने गरेको उहाँले बताउनुभयो । कार्यक्रममा, लागु पदार्थको सेवन, शारीरिक दण्ड सजाय, आर्थिक विपन्नता, यौनजन्य शोषण, असमझदारी, परिक्षाको नतिजा अपेक्षाकृत नहुनु, प्राकृतिक प्रकोप, बालविवाह, बालबालिका माथि विभेद तथा हिंसा जस्ता कारणले आत्महत्या बढिरहेको सहभागीहरुले निश्कर्ष निकालेका थिए । चिकित्सा मनोविद रामपुकार शाहले तनाव व्यवस्थापनका लागि गर्न सकिने व्यायमहरु बारे जानकारी समेत गराउनुभएको थियो ।