पुष ६ गते २०७८, रुपन्देही ।

लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिकामा बाल हेल्पलाइन १०९८ संचालनमा आएको छ । प्रदेशको कानून, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले एक विशेष कार्यक्रम माझ बाल हेल्पलाइन १०९८ को उद्घाटन गर्नुभएको हो । उद्घाटनको क्रममा मन्त्री घर्तीले लुम्बिनी प्रदेशले बालबालिकाको क्षेत्रमा रहेको बजेट कटौतीलाई निक्कै दुखद् भन्दै बाल संरक्षण संयन्त्र संचालनका लागि आवश्यक श्रोत जुटाउन हरसम्भव प्रयास गर्ने बताउनुभएको छ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वाशुदेव घिमिरेले ५१ वटै सूचकहरु पर गरेर बालमैत्री घोषणा भएको पहिलो स्थानिय निकाय भएको उल्लेख गर्दै आउने दिनमा बालबालिकाको अधिकार सुनिश्चितताका लागि प्रयासलाई निरन्तरता दिइने बताउनुभयो । लुम्बिनी प्रदेशको दोश्रो बाल हेल्पलाइन आफ्नै नगरपालिकामा स्थापना भएकोमा निक्कै खुशी ब्यक्त गर्दै नगरप्रमुख घिमिरेले बालबालिकाको अधिकार स्थापना, बालसंरक्षण र सुरक्षाकालागि सरकारी तथा निजी क्षेत्रसँगको सहकार्यका लागि सँधै तत्पर रहेको उल्लेख गर्नुभयो ।
यसैगरी, उपमेयर जोगेश्वर देवी चौधरीले भौतिक निर्माण मात्रै विकास नभई सामाजिक विकासले मात्रै परिवर्तनको आभास दिने बताउँदै बालमैत्री घोषणालाई स्थायित्व दिनकालागि प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले बालबालिका सँधै विभिन्न खाले जोखिममा परिरहने भएकोले समस्या अभिव्यक्तिकोलागि माध्यमको खोजीमा रहने भएकोले रुपन्देहीमा हेल्पलाइन सेवा विस्तार भएकोमा खुशी व्यक्त गर्नुभएको छ । साथै बालबालिकाको मुद्दा राजनैनिक, सामाजिक मुद्दा बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसैगरी, सिविन नेपालका अध्यक्ष माधव प्रधानले, रुपन्देही कै बालबालिकाले हेल्लो सरकारमा गुनासो गरेपछि एनसेलबाट पनि १०९८ मा सम्पर्क गर्न सम्भव भएको स्मरण गराउनुभयो । झण्डै दशक अघिपनि रुपन्देहीमा हेल्पलाइन सेवा संचालनको प्रयास गरेको भएपनि आवश्यक श्रोत साधन र समन्वयको अभावमा हेल्पलाइन सेवा बन्द गर्नुपरेको दुखद् विगतलाई सम्झँदै अहिले स्थानिय निकाय र स्थानियहरु कै सहयोगमा संचालनमा आएको हेल्पलाइन दीगो हुने विश्वास पनि सिविनका अध्यक्ष प्रधानले व्यक्त गर्नुभयो ।