पुष ९ गते २०७८, कास्की ।
कास्कीको पोखरा महानगरपालिका १५ स्थित न्यू लाइफ स्कूल नामक बालगृहबाट उद्धार गरिएका ९ बालबालिकालाई अहिले सिविन नेपालले संचालन गरिरहेको बाल हेल्पलाइन १०९८ कास्कीमा संरक्षण दिइएको छ । उद्धार गरिएका बालबालिकालाई अहिले हेल्पलाइनमा मनोसामाजिक परामर्श दिइनुका साथै उनीहरुको परिवारको खोजीभइरहेको हेल्पलाइन कास्कीका संयोजक शंकर नेपालीले जानकारी दिनुभएको छ । स्थानिय संचार माध्यमहरुले ओछ्यानमा पिसाब गरेको भन्दै गोप्य अंगमा रबर बाँधेको भन्ने समाचार सम्प्रेशन गरेपछि राष्ट्रिय बालअधिकार परिषद्, नेपाल प्रहरी, बाल हेल्पलाइन १०९८ कास्की, पोखरा वडा १५ कार्यालय र शक्ति समूहको संयुक्त टोलीले न्यू लाइफ स्कूलमा पुगेर बालबालिकाको उद्धार गरेको हो । यसअघि राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र १०४, बाल हेल्पलाइन १०९८ सम्मिलित टोलीले स्कूलमा बालबालिकाको अवस्थाको अनुगमन गरेको थियो । नाम स्कूल भएपनि, विना दर्ता नै संचालनमा रहेको यस बालगृहले कोभिड १९ ले ल्याएको बन्दाबन्दीको समयमा कास्कीका विभिन्न स्थानबाट बालबालिका जम्मा पारी ल्याएको उद्धार टोलीले जनाएको छ । केही बालबालिकाका अभिभावकहरु सम्पर्कमा आइसकेको र अरु बालबालिकाका अभिभावकको खोजी भइरहेको छ । यसैगरी बालगृहका संचालक गणेश परियारलाई कानूनी कारवाहीको प्रकृया अगाडि बढाइसकिएको बाल हेल्पलाइन कास्कीका संयोजक नेपालीले जानकारी दिनुभएको छ ।