चैत १० गते २०७८, दोलखा ।
कालिन्चोक गाउँपालिकालाई बाल मैत्री स्थानीय शासनयुक्त घोषणापछि सूचकहरुको दीर्घकालिन कार्यान्वयनका गर्न पाँच बर्षे रणनीतिको लागि ९ करोड रुपैंया विनियोजन गर्ने गाउँपालिका प्रमुख बिन कुमार थामीले प्रतिवद्धता जनाउनु भएको छ । सबै सूचना र मापदण्ड पुरा भएकोले कालिन्चोक गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा योग्य भएको अनुगमनपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा आज गाउँपालिका अध्यक्ष थामीले प्रतिवद्धता जनाउनु भएको हो । पाँच बर्षे रणनीति र विनियोजित वजेटले बालबालिकालाई विकासको मुलधारमा ल्याउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष थामीले विश्वास व्यक्त गर्नुभयो ।
आज भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले अनुगमनपत्रमा हस्ताक्षर गर्नुभएको दोलखाबाट सिविन नेपालका कार्यक्रम अघिकृत सन्तोष विमलीले जानकारी दिनुभएको हो ।
यसैक्रममा गाउँपालिकामा बालमैत्री स्थानीय शासन लागु गर्न पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला संस्थाहरुको प्रभावकारी परिचालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले जानकारी दिनुभएको छ ।
आउने चैत १२ गते कालिन्चोकलाई स्थानिय बाल मैत्री शासनयुक्त स्थानीय तह घोषणा गरिंदैछ । घोषणासँगै कालिन्चोक गाउँपालिका दोलखा जिल्लाको बाल मैत्री शासनयुक्त पहिलो गाउँपालिका हुनेछ भने दोश्रो स्थानीय तह हुनेछ । यसअघि, सबै सूचकहरु पुरा गरेर दोलखाका ९ वटा स्थानिय तह मध्ये, भिमेश्वर नगरपालिका पहिलो बालमैत्री स्थानीय तह घोषणा भइसकेको छ ।



