बैशाख २२ गते २०७९, काठ्माडौं ।
काठ्माडौंका विभिन्न स्थानबाट, श्रममा लगाइएका १४ बालबालिकाको उद्धार गरिएको छ । बाल हेल्पलाइन काठ्माडौं, बालबालिका खोज तलास केन्द्र , स्थानिय प्रहरी, श्रम कार्यालय र राष्ट्रिय बालअधिकार परिषद्को संयुक्त टोलीले १४ बालबालिकाको उद्धार गरेको हो । टोलीले एभरेष्ट मम सेन्टर, बागबजार, बौद्धको एक गलौंचा कारखाना तथा धोविचौर, बानेश्वर तथा पशुपति क्षेत्रमा अवस्थित कटन क्यान्डी कारखानाका गरी १४ बालबालिकालाई उद्धार गरिएको हो । बाल श्रममा संलग्नहरुलाई कारवाहीको प्रकृया अगाडि बढाइएको छ ।
यसैगरी, बैशाख २१ गते, राष्ट्रिय बालअधिकार परिषद्को अगुवाईमा इलाका प्रहरी कार्यालय धरान तथा बाल हेल्पलाइन मोरडको सहकार्यमा धरानका विभिन्न स्थानबाट सडकमा आश्रित १८ बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुलाई विभिन्न संघ संस्थाको जिम्मा लगाइएको बाल हेल्पलाइन मोरडका संयोजक बासु अधिकारीले जानकारी दिनुभएको छ ।