असार ३० गते २०७९, पोखरा ।
कास्की जिल्लामा बालबालिकाको सुरक्षा र संरक्षणकालागि उपलब्ध सेवासुविधाको नक्सांकन गरिएको छ । सिविन नेपालले, युनिसेफसँगको सहकार्यमा बाल संरक्षणकालागि कास्कीमा उपलब्ध सेवाहरुको नक्सांकन गरेको हो । कार्यक्रममा बालबालिका कुनै पनि समस्यामा पर्दा आवश्यक पर्ने कानूनी सेवा, पुनर्स्थापनालगायतको सन्दर्भमा सेवा दिने संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको हो । यही सन्दर्भमा संघसंस्थाहरुले आफूले दिंदै आएका सेवा सुविधाको सूचि पोखरा नगरपालिकाको सामाजिक विकास महाशाखामा बुझाउने र महाशाखाको संयोजनमा जोखिममा रहेका बालबालिकालाई सेवा उपलब्ध गराउने निर्णय समेत गरेका छन् । कार्यक्रममा श्रम कार्यालय, कास्की, जिल्ला प्रहरी कास्की, राष्ट्रिय बालअधिकार परिषद्, बाल गृह संजाल कास्की, जिल्ला बाल संरक्षण इकाई, सेलर्डसँगै सिविन नेपाललगायतका संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।