साउन १४ गते २०७९, काठ्माडौं ।
राष्ट्रिय किशोर संजालको प्रथम बार्षिकोत्सवको अवसरमा सिविन नेपालसँगै किशोरकिशोरीको क्षेत्रमा सक्रिय विभिन्न संजालका प्रतिनिधिहरुले बधाई तथा शुभकामना दिएका छन् । संजालले आयोजना गरेको अनलाइन कार्यक्रममा राष्ट्रिय किशोरी संजाल, सिविन नेपालसँगै बालबालिका तथा किशोरकिशोरीको क्षेत्रमा क्रियाशील विभिन्न संजालका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालमा बालअधिकारका प्रणेता गौरी प्रधानले राष्ट्रिय किशोर संजालले शुरुवाती समयदेखि गर्दै आएका काम कारवाहीको प्रशंसा गर्नुभएको छ । संजालको क्रियाशीलता र पहिलो बर्षमा हासिल गरेका उपलब्धिहरुलाई सह्रानियको संज्ञा दिनुभएको छ । यही क्रममा वरिष्ठ मानवअधिकारकर्मी प्रधानले बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने विषयमा आफ्ना विचारहरु समेत राख्नुभयो । उहाँले बालअधिकार स्थापनाको क्षेत्रमा आफ्ना अनुभवबारे सुनाउँदै संजालको घोषित उद्देश्य पुरा गर्नमा सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा सिविन नेपालका अध्यक्ष माधव प्रधानसँगै अरु विभिन्न संजालका प्रतिनिधिहरुले पनि आफ्ना शुभकामना मन्तव्य राखेका थिए ।