भदौ १७ गते २०७९, मकवानपुर ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नं ४ का १८ वर्षिय बालक र कैलाश गाउँपालिका वडा नं. ७ कि १६ वर्षिय बालिकाविच हुन लागेको बालविवाह रोकिएको छ । बाल हेल्पलाइन नेपालको फोन गर्दा पैसा नलाग्ने नम्बर १०९८ मा दुई दिन अघि विवाह हुन लागेको सुचना आएपछि बालविवाह रोकिएको बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ । बालहेल्पलाइनका प्रतिनिधि र मनहरी गाउँपालिकाको उपाध्यक्ष सीता पुलामी मगर, वडा नम्बर ४ का अध्यक्ष प्रकाश थापा, वडा नम्बर २ का अध्यक्ष राज कुमार पाख्रिनसहितको टोलीले बालविवाह रोकेको हो ।
दुवै पक्षलाई बाल विवाहका असर तथा परिणाम, कानुनी व्यवस्था, यसबाट हुने दीर्घकालिन असर लगायतका विषयमा सचेत बनाई आइन्दा यस्ता घटना नदोहोर्याउने प्रतिवद्धता समेत गराइएको थियोे । साथै मनहरी गाउँपालिका वडा नं. ४ का अध्यक्ष प्रकाश थापाले किशोरले अगाडि पढ्न वा शीप सिक्न चाहेमा वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । किशोरकिशोरीलाई थप परामर्शको लागिको लागि गाउँपालिकाले बाल हेल्पलाइनको संरक्षणमामा पठाइएको छ ।
गएको आर्थिक बर्षमा बाल हेल्पलाइन मकवानपुरमा ५० वटा बालविवाहका घटना दर्ता भएकोमा ४४ जनाको बालविवाह रोकिएका छन् । यस आर्थिक बर्षको डेढ महिना भित्रमा पनि १० वटा बालविवाह बालहेल्पलाइनमा दर्ता भएका छन् । पछिल्लो समयमा अभिभावक र बालबालिका विचमा सम्बन्ध बलियो नहुनु, विविध कारणले बालबालिकाले विद्यालय छोड्नु, सानै उमेरमा बालबालिकाको पहुँचमा मोवाइल पुग्नु, बालबालिकाहरुलाइ घरमा नराखी आफन्त वा होस्टलमा राखी अध्ययन अध्यापन गराउनु, बालबालिकाहरु विच सानै उमेरमा प्रेम सम्बन्धका नाममा अनैतिक सम्बन्ध स्थापित गर्नु जस्ता कारणहरु रहेको बालहेल्पलाइनमा दर्ता भएका घटनाहरुले देखाएको बालहेल्पलाइन मकवानपुरका प्रवन्धक ज्ञवालीले जानकारी दिनुभएको छ ।

