लैंगिक हिंसामा परेका बालबालिकाका लागि काम गर्नेहरुलाई लक्षित कार्य प्रणाली ढाँचा तैयारी अन्तिम चरणमा
पौष १९ गते २०७९, काठमाडौं ।
लैंगिक हिंसामा परेका बालबालिकाका लागि अग्रपंक्तिमा रही काम गर्ने र सेवा प्रदायकहरुलाई लक्षित कार्य प्रणाली ढाँचा तैयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । यसैक्रममा लैंगिक हिंसामा परेका बालबालिकाको मुद्दाको व्यवस्थापन, उनीहरुबाट घटना बुझ्ने तरिका, गोपनियतालगायतका विषय समेटिएको कार्य प्रणाली ढाँचाको मस्यौदामा काठ्माडौंमा सेवाप्रदायकहरुसँग छलफल गरिएको हो । छलफलमा बाल हेल्पलाइन नेपाल १०९८, एकद्वार संकट व्यवस्थापन केन्द्र, बालबालिका खोज तलास केन्द्र १०४ लगायत बाल संरक्षणमा सक्रिय नागरिक समाज संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । यसअघि गएको साता, सातै प्रदेशका ४५ जनासँग बालबालिकामाथि हुने लैंगिक हिंसा निवारणमा सक्रिय सेवा प्रदायक र अग्रपंक्तिमा रहेर काम गर्नेहरुसँग अनलाइनमा मस्यौदाका बारेमा छलफल गरी प्रतिक्रिया लिइएको थियो ।

