पुष २३ गते २०७९, मकवानपुर।
हेटौंडा उपमहानगरपालिकामा बालक्लब संजालका बालबालिका तथा किशोरकिशोरी अनलाइन सुरक्षासम्बन्धि कार्यशाला गोष्ठीमा सहभागी भएका छन् । उपमहानगरपालिकाका १९ वटै वडाका ३२ बालबालिका तथा किशोरकिशोरी कार्यशालामा सहभागी भएका हुन् । कार्यशालामा सहभागीहरुलाई सिविन नेपालका माधव लोहनीले अनलाइनमा हुन सक्ने र हुने गरेका विभिन्न खाले हिंसा र दुर्व्यवहारबारे जानकारी गराउनुभयो । सामाजिक संजालको दुरुपयोग र यसबाट हुन सक्ने अपराधलगायतका बारेमा छलफल गर्दै, अनलाइन हिंसा वा दुर्व्यवहारमा परिहालेको अवस्थामा प्रयोग गर्न सकिने संयन्त्रहरुबारे सहभागीहरुलाई जानकारी गराइएको थियो ।
यसैक्रममा, मकवानपुरमा रहेका बालविवाह र बाल संरक्षणका चुनौतीहरुका बारेमा समेत कार्यक्रममा छलफल भएको थियो । बालहेल्पलाइन मकवानपुरमा गएको बर्ष दर्ता भएका ६१ बालविवाहका घटनामा मोवाइल र विभिन्न सामाजिक संजालको प्रयोग मुख्य कारण रहेको बारे समेत कार्यक्रममा छलफल र चर्चा भएको बालहेल्पलाइन मकवानपुरका प्रवन्धक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
कार्यक्रममा बालबालिकाहरुलाई सिविन नेपालका अध्यक्ष माधव प्रधानले बालबालिकाहरुको संरक्षणको लागि राष्ट्रिय बालअधिकार समितिको सहकार्यमा सिविन नेपालले मकवानपुर जिल्लामा संचालन गरिरहेको बालहेल्पालाइन १०९८ बारे जानकारी गराउँदै बढीभन्दा बढी बालबालिकासम्म यसबारेको जानकारी पुर्याउन सहयोग गर्न बालबालिकासँग अनुरोध समेत गर्नु भयो । वडामा रहेका बालक्लब संजालका बैठकहरुमा अनलाइन सुरक्षा र बाल संरक्षण संयन्त्रहरुबारे सिकेका कुरा हस्तान्तरण गरिने समेत बाल हेल्पलाइन मकवानपुरका प्रवन्धक ज्ञवालीले बताउनु भयो ।