माघ १७ गते २०७९, कास्की ।
तनहुँको घिरिंगा गाउंपालिका–३ मा प्रधानाध्यापकले कक्षा १० का विद्यार्थीमाथि गरेको कुटपिटसम्बन्धि घटनाको छानविन र दोषिमाथि कारवाहीको माग सहित सिविन नेपालको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग भेट गरेको छ । चन्द्रज्योती माध्यमिक विद्यालयबाट प्रवेशिका परिक्षा दिने तैयारीमा रहेका ४२ जना विद्यार्थीहरुलाई प्रधानाध्यापक प्रेम थापाले कुटपिट गरी घाइते बनाएको घटनाको छानविन र कारवाहीको माग सहित सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरसहितको टोलीले प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेको हो । प्रवेशिका परिक्षा अगाडिको प्री टेष्टमा कम अंक ल्याएको भन्दै प्रधानाध्यामक थापाले कुटपिट गरेको आरोप विद्यार्थीले लगाएका छन् । जतिवटा प्रश्नको उत्तर बिगारे त्यति नै पटक भाटा हानेको, प्रधानाध्यापक थापाले स्वीकारेको मुख्यमन्त्रीसँगको भेटमा उपस्थित सिविन नेपालका माधव लोहनीले जानकारी दिनुभएको छ । ४२ मध्ये एक बालिका पिटाइ कै कारण अस्पताल भर्ना हुनुपरेको विद्यार्थीको दावी छ । मुख्यमन्त्रीसँगको भेटमा बाल संरक्षणको विषयमा समेत थप कुराकानी भएको टोलीले जानकारी दिएको छ ।
यसै बिषयमा सिविन नेपालको टोलीले जिल्ला प्रहरी प्रमुखलाई समेत भेटेको छ । प्रकृया अगाडि बढाउने विषयमा काम भइरहेको प्रहरी प्रमुखले जानकारी दिनुभएको छ ।
साथै सिविन नेपालको टोलीले, प्रदेशका सामाजिक विकास मन्त्री पञ्च नारायण गुरुङ्गलाई समेत भेटेर घटनाबारे जानकारी गराएको छ । मन्त्री गुरुङ्गले दोषिमाथी कार्यवाही र पिडित बालबालिकालाई स्वास्थ्य उपचार तथा क्षतिपुर्तिको व्यवस्था गरिने प्रतिवद्धता जनाउनुभएको छ ।




