फागुन १० गते, २०७९, ललितपुर ।
विभिन्न खाले लैंगिक हिंसा विरुद्ध विश्वव्यापि रुपमा मनाइने उर्लंदो सय करोड अभियान अन्तर्गत आज ललितपुरको जावलाखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । यही क्रमुमा अभियानमा सहभागीहरुले कविता वाचन, नाच गान, चित्रकलासँगसँगै नाटक मन्चन समेत गरेका थिए । प्रस्तुतीहरुमा महिला र अरु लैंगिक अल्पसंख्यक समुदायकाहरुले भोग्नु परेका समस्या, हिंसा, दुव्र्यवहारका बारेमा जिकिर गरिएको थियो । साथै लैंगिक हिंसा अन्त्यका लागि कला, र सांस्कृतिक प्रस्तुतीबाट सरोकारवालाहरुसँग माग समेत गरिएको थियो ।
विश्वमा हरेक ३ मध्येको १ महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै रुपमा शारिरीक र यौनजन्य हिंसाको शिकार हुने तथ्यांक छ । यो हिसाबमा विश्वभर नै झण्डै सय करोड महिला र थप संख्यामा अरु लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरु विभिन्न खाले लैंगिक हिंसाको शिकार हुने गरेको तर्फ ध्यानाकर्षण गर्न हरेक बर्ष फेब्रुअरीको १४ तारिक अथवा भ्यालेन्टाइन डे को दिन पारेर उर्लंदो सय करोड अभियान अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । नेपालमा भने गएको फेब्रुअरी १४ तारिखमा भएको विरोध कार्यक्रमका कारण फेब्रुअरी २२ तारिखमा यो दिवस मनाइएको हो । हिंसा र दुव्र्यवहारमा परेकाहरु पिडकबाट पराश्त नभएको र हिंसा विरुद्ध अझ सशक्त र एकीकृत भई अगाडि बढ्ने प्रतिवद्धताका साथ विश्वभर नाच, गान र अरु किसिमबाट आफूलाई अभिव्यक्त गरी यो दिवस मनाइन्छ ।