चैत २० गते २०७९, काठ्माडौं ।
राष्ट्रिय बाल अधिकार परिषद्ले अनलाइनमा बालबालिकाको सुरक्षा र अनलाइन हिंसाबाट बालबालिकामा पर्ने मानसिक असरबारे सबै मन्त्रालयसँग निरन्तर छलफल गर्ने प्रतिवद्धता जनाएको छ । अनलाइन बाल संरक्षणको विषयमा सरकारी निकायका पदाधिकारिहरुसँग भएको उच्चस्तरिय नीतिसंवाद कार्यक्रममा बोल्दै परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँले सबै मन्त्रालयसँग तत्कालै सहकार्य थालिने प्रतिवद्धता जनाउनुभएको हो । उपाध्यक्ष बानियाले, बालबालिकाको सुरक्षा तथा मानसिक स्वास्थ्यमा काम गर्ने संघसंस्थासँग तत्कालै बैठक बस्ने पनि जानकारी दिनुभयो । कार्यक्रममा, अनलाइन हिंसा र दुव्र्यवहारमा परेका बालबालिकाले भोग्नु पर्ने मानसिक समस्या र पिडाका विषयमा कान्ति बाल अस्पतालका मनोचिकित्सक अमित झाले तथ्य सहित प्रस्तुती दिनुभएको थियो ।
यसैक्रममा सिविन नेपालका अध्यक्ष माधव प्रधानले, अनलाइन बाल सुरक्षाबारेको कार्य संचालन ढाँचाको बारेमा प्रस्त्याउनुभयो । साथै सिविन नेपालका अध्यक्ष प्रधानले, अनलाइनमा बालबालिकाको सुरक्षाका लागि सिविन नेपालले विभिन्न संघसंस्थासँगको सहकार्यमा अहिलेसम्म गरेका काम, उपलब्धि र चुनौतीका बारेमा जानकारी दिनुभयो ।
यसैगरी, न्यायिक सेवा आयोगका उपसचिव ठाकुर प्रसाद बस्ताकोटीले बालबालिकासम्बन्धि ऐन, अनलाइन र इन्टरनेट सुरक्षाका लागि भएका ऐन, र ती ऐनमा आवश्यक परिमार्जनको विषयमा आफ्ना विचार राख्नुभयो ।
साइबर व्युरोका निरिक्षक सावित्रा कार्कीले अनलाइन यौन दुव्र्यवहारका मुद्दा छिनोफानोमा प्रत्यक्ष प्रमाण जुटाउने काममा सामाजिक संजाल फेसबुकले मात्रै सहयोग गरेको र बाँकीबाट सहयोग पाउन नसकेको दुखेसो पोख्नुभयो ।
उच्चस्तरिय सरकारी वकिलको कार्यलयका उपन्यायाधिवक्ता दिपक भण्डारीले भने स्कूलमा कार्यरत नर्सहरुलाई नै अनलाइन हिंसा र त्यसबाट हुन सक्ने मानसिक असरका बारेमा जानकार बनाउनु अति आवश्यक भएको विचार राख्नुभयो । यसैगरी, शिक्षा मन्त्रालयसँग सहकार्यगरी पाठ्यक्रममै अनलाइन सुरक्षाको विषय समावेश गर्न पहल गर्नु पर्ने पनि उहाँको धारणा थियो । मानव अधिकार आयोगका सहसचिव दिपक जंग ध्वज कार्कीले पनि सहमति जनाउँदै पाठ्यक्रममा नै अनलाइनमा हुने यौनजन्य हिंसाको विषयमा समावेश गरिनुपर्नेमा जोड दिनुभयो । यसैगरी, आउने दिनमा आयोगले गर्ने सबै कार्यक्रममा बालबालिकाको मानसिक स्वास्थ्यको विषयमा पनि समेट्ने प्रतिवद्धता जनाउनुभयो । नेपाल दुरसंचार प्राधिकरणका सहनिर्देशक रोजा किरण वसुकलाले साइबर सुरक्षाका लागि २०६८ सालदेखि नै अनलाइन सुरक्षाको विषयमा निर्देशिका जारेको र समयसमयमा संचार मन्त्रालयसँगको सहकार्यमा आवश्यक परिमार्जन गरेको बताउनुभयो ।
सुचना तथा संचार मन्त्रालयका उपसचिव इन्द्र प्रसाद मैनालीले सुचना प्रविधि विधेयक तत्काल पास हुने अवस्था नरहेको, र साइबर सुरक्षा नीतिलाई छलफलका लागि फेरी क्याविनेटमा पठाउने तैयारीमा रहेको जानकारी दिनुभयो । कार्यक्रम, सिविन नेपाल र गुड सेफर्ड इन्टरन्यास्नल फाउन्डेसनको सहकार्यमा संचालन गरिएको हो ।

