बैशाख २७ गते २०८०, इलाम ।
इलामको सूर्योदय नगरपालिकाले “बालबालिका राष्ट्रिय गौरव हुन्” अभियानको अपनत्व लिएको छ । बालमैत्री नगरपालिका घोषणा भइसकेको नगरपालिकाले आफूले तय गर्ने कार्यक्रमहरुमा बालबालिकालाई थप प्राथमिकता दिने छ । नेपाल सरकारले निर्धारण गरेका ५१ सूचकमा थप ३ सूचक पनि पूरा गरेर सूर्योदय नगरपालिकाले आफूलाई बालमैत्री घोषणा गरेको हो । नगरप्रमुख रण बहादुर राईले यसअघि नगरका बालबालिकाको मानसिक स्वास्थ्य समस्या सम्बोधनका लागि सिविन नेपालको सहयोगमा कान्ति बाल अस्पताल, बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभागसँग मिलेर विशेष पहल थाल्नुभएको हो । यहीक्रममा सिविनको प्राविधिक सहयोग र विभागका चिकित्सक र चिकित्सा मनोविद्सँगको सहकार्यमा नगरपालिकाले छिट्टै टेलिमेडिसिन सेवा संचालनमा ल्याउने तैयारी समेत गरिसकेको छ ।

