भदौ ३१ गते २०८१, मकवानपुर ।
काठ्माडौंबाट कुलेखानी हुँदै हेटौंडा पुग्ने सडक खण्डमा रहेका खाजाघरको अनुगमनगरी बालश्रममा लगाइएका ७ बालबालिकाको उद्धार गरिएको छ । भीमफेदी गाउँपालिकाको संयोजनमा श्रम तथा रोजगार कार्यालय, बागमती प्रदेश, सिविन नेपालद्वारा संचालित बाल हेल्पलाइन नेपाल १०९८ र छोराछोरी नामक स्थानीय संस्थाकोे सहकार्यमा चिसापानी क्षेत्रमा गरिएको अनुगमनमा ७ बालबालिकाको उद्धार गरिएको हो । अनुगमनको क्रममा १३ देखि १७ बर्ष उमेर समुहका एक बालिका र ६ बालकको उद्धार गरिएको बाल हेल्पलाइन १०९८ मकवानपुरका व्यवस्थापक झविन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ । अधिकांश बालबालिकालाई काममा लगाएर नयून ज्याला दिने वा ज्याला नदिई खान बस्न मात्रै दिएर काम लगाउने गरेको भेटिएको हेल्पलाइन व्यवस्थापक ज्ञवालीले जानकारी दिनुभयो । अनुगमन गरिएका १० मध्ये ४ होेटेलमा बालश्रम भेटिएको र बाँकी दुई होटेलका संचालकलाई, छोलीले, ७ दिनभित्र श्रम कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । बाँकी रहेका ४ वटा होटेलमा भने कुनै बालश्रम नभेटिएको टोलीले जनाएको छ ।