कात्तिक १२ गते २०८१, रुपन्देही ।
रुपन्देहीका बालक्लब सदस्यहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र बाल संरक्षणको विषयमा अभिमुखिकरण गरिएको छ । वृहत्तर यौनिकता शिक्षाको विषयमा पालिका स्तरीय बाल क्लबका पदाधिकारी तथा सदस्यहरुलाई तालिम दिइएको हो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका १० जना, सिद्धार्थनगरपालिकाका १० र ओमसतिया गाउँपालिकाका ११ गरी ३१ जना किशोरकिशोरी सहभागी रहेका थिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक प्रवेश पौडेलले यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको विषयमा छलफलको सहजीकरण गर्नुभएको थियो । यसैगरी, प्रजनन् स्वास्थ्यमा असर पर्दा किशोरकिशोरीले भोग्ने मानसिक, शारीरिक, सामाजिक समस्या र यसको रोकथाम तथा उपचारका विषयमा तिलोत्तमा नगरपालिका आनन्दवन स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक राम प्रसाद चुदाँलीले सहभागीलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा, सहभागी किशोरकिशोरीले यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसँग जोडिएको, व्यवहारमा देखे भोगेका समस्याको विषयमा सामुहिक छलफल गरेको सिविन नेपालद्वारा रुपन्देहीमा संचालित बाल हेल्पलाइन नेपाल १०९८ का संयोजक विष्णु पौडेलले जानकारी दिनुभएको हो ।




