पौष १९ गते २०८१, बारा ।
बारा जिल्लाको डुमरवानामास्थित एक गलैंचा उद्योगमा बालश्रममा लगाइएका ८ बालबालिकालाई श्रम तथा रोजगार कार्यालय वीरगंज, जीतपुर सिमरा उपमहानगरापालिका, र सिविन नेपाल, बालहेल्पलाइन १०९८ मकवानपुर सहितको टोलिले उद्धार गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको सुष्मा गलैंचा उद्योगबाट १४ देखि १७ बर्षका ३ बालिका र ५ बालकको, टोलीले उद्धार गरेको हो । उद्धार गरिएका बालबालिकालाई बाल हेल्पलाइन हेटौडामा राखिएको, बालहेल्पलाइन १०९८ मकवानपुरका प्रवन्धक झबिन्द्र ज्ञवालीले जानकारी गराउनुभएको छ । मकवानपुर जिल्लाको राक्सिराङ् गाउँपालिकाका सोम बहादुर बुलनले आफ्नो १४ वर्षिय छोरालाइ गलैंचा कारखानाबाट उद्धार गरिदिन बालहेल्पलाइन १०९८ मा निवेदन दिए पछि थालिएको प्रक्रियामा अरु बालबालिकाको अवस्था बारे पनि खुल्नआएको हो ।
अनुगमनका क्रममा बालबालिकाहरुलाई ठेकेदार मार्फत काममा लगाइएको, नेपाल सरकारले तोकेबमोजिमको तलव नदिइएको, दिनमा १६ घण्टासम्म काम लगाइएको, कार्यस्थलबाट बाहिर आवतजावत गर्न प्रतिवन्ध गरेको, बालबालिकाहरुको खानपान बसाइ अति निकृष्ट प्रकारको रहेको, चरम श्रमशोषण भएको, आफुले भने अनुसार काम नगर्ने बालबालिकाहरुलाइ यातना समेत दिन गरेको, जाडोको समयमा पनि न्यायो कपडाको ब्यवस्था नभएको अनुगमनका क्रममा पाइएको छ ।
घटनाको कानुनी प्रकृयाको लागि श्रम तथा रोजगार कार्यालय वीरगंजसँग समन्वय गर्ने र परामर्श तथा संरक्षणको लागि बालहेल्पलाइन मकवानपुरमा पठाइएको जीतपुर सिमरा उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख रमेश सुवेदीले बताउनु भयो ।
बालबालिकाहरुलाई बालहेल्पलाइन १०९८ हेटौडामा सोधपुछ तथा परामर्श दिनुका साथै अभिभाकहरुलाइ सम्पर्कमा ल्याउन प्रयत्न भइरहेको छ साथै सकेसम्म छिटो भन्दा छिटो यो घटनालाइ कानुनी प्रकृयामा लैजान श्रम तथा रोजगार कार्यालयमा बालबालिका सहित अभिभावकलाइ उपस्थितिको लागि पहल गरिने बालहेल्पलाइनले जनाएको छ ।
अनुगमन टोलीमा श्रम तथा रोजगार कार्यालय वीरगंजका कार्यालय प्रमुख बलराम कुशवाह, जीतपुर सिमरा उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख रमेश सुवेदी, रोजगार संयोजक म.नसिमुल गनी र नगर प्रहरी सहायक निरीक्षक रविन कुमार खड्का सहितको टोली र सिविन नेपाल, बालहेल्पलाइन १०९८ मकवानपुरका प्रवन्धक झबिन्द्र ज्ञवाली र कार्यक्रम अधिकृत सम्झना अधिकारी रहेका थिए ।

