फागुन २ गते २०८१, मकवानपुर ।
हेटौंडा उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणा गर्ने काममा प्रत्यक्ष योगदान पुर्याएको कदरस्वरुप उपमहानगरपालिकाले सिविन नेपाललाई सम्मान गरेको छ । उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त र बालमैत्री स्थानीय शासनयुक्त घोषणा समारोहमा सिविन नेपाललाई सम्मानीत गरिएको हो । बालहेल्पलाइन मकवानपुरका प्रवन्धक झविन्द्र ज्ञवालीले सिविन नेपालको प्रतिनिधित्व गर्दै सम्मान ग्रहण गर्नुभएको हो । गएको फागुन १ गते केन्द्रीय सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाश मान सिंह प्रमुख अतिथिका रुपमा रहेको एक विशेष कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकालाई बालश्रममुक्त घोषणा गरिएको हो ।
बालमैत्री घोषणा गर्नुअघि ५१ वटै सूचक पूरा गर्न उपमहानगरपालिकाले दुई बर्ष अघि नै अभियान नै संचालन गरेको थियो । घोषणालाई दीगो बनाउन अहिले प्रत्येक वडाले लगानी योजना बनाइसकेको बालहेल्पलाइन मकवानपुरका प्रवन्धक ज्ञवालीले जानकारी दिनुभएको छ । योजना अनुसार नयाँ आर्थिक बर्षमा बालमैत्री शासन कायम गर्न बजेट विनियोजन, कार्यक्रमहरु तैयार गर्ने गरिन्छ । अहिले हेटौंडा उपमहानगरपालिकामा टोल विकास, विद्यालय, वडा र नगर स्तरीय गरी ३५१ वाल क्लब सक्रिय रहेको र प्रत्येक वडामा १ जना बालमैत्री सहजकर्ता तोकिएको छ । यसैगरी, १ जना नगरस्तरीय बालमैत्री सहजकर्ता, प्रहरी कार्यालयहरुमा बालमैत्री सम्पर्क व्यक्ति, र नगरका सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक समेत तोकिएका छन् । यसका साथै नगरले आपत्कालिन बालकोष समेत खडा गरेको छ । नगरभित्रका प्रत्येक विद्यालयमा बाल संरक्षण नीति अनिवार्य लागु गरेर हेटौंडा उपमहानगरपालिकाले आफूलाई बालमैत्री शासनयुक्त घोषणा गरेको हो ।




