बैशाख ४ गते २०८२, काठ्माडौं ।
बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा काम गरिरहेका सरोकारवालाहरुको बैठकमा सहभागीहरुले भएका उपलब्धीहरु एक आपसमा साझा गर्न आवश्यक रहेको औंल्याएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा सिविन नेपाल, CMC Nepal र TPO Nepal को सहआयोजनामा भएको कार्यक्रममा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यको विषयमा आवश्यक अध्ययन अनुसन्धानको कमि तर्फपनि सहभागीहरुले ध्यानाकर्षण गराएका थिए । युनिसेफको सहयोगमा विभागका महानिर्देशक टंक प्रसाद बराकोटीको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा सिविन नेपालका तर्फबाट बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य क्षेत्रमा भएका कार्यक्रम, कार्यक्रमका उपलब्धीसँगै भएका चुनौतीका विषयमा जानकारी गराइएको थियो । साथै कार्यक्रममा बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यको विषयमा सचेतना बढाउने उद्देश्यले कर्णाली प्रदेशमा लागु गरिएको Socio-Emotional Learning (SEL) बारेमा सहभागीहरुलाई जानकारी समेत गराइएको थियो ।

बालबालिका र किशोरकिशोरीमा १४ बर्ष भन्दा पहिले नै मानसिक स्वास्थ्य समस्या देखापर्ने र धेरै पटक यस्ता समस्या जैविक हुने हुँदा रोकथामसँगै औषधोपचारको पनि आवश्यकता रहने गर्छ । नेपालमा बालबालिकाको मानसिक स्वास्थ्य समस्या समाधानका लागि धेरै कार्यक्रमहरु भएपनि ती कार्यक्रमले हासिल गरेका नतिजाका बारेमा आवश्यक अध्ययन अझै नभएको विषयमा कार्यक्रममा छलफल भएको थियो । सँगै कुनै क्षेत्रमा भएका असल अभ्यास र उपलब्धीलाई सरकारले संस्थागत गर्न तर्फ लाग्न समेत कार्यक्रमका सहभागीहरुले विचार राखेका थिए ।