जेठ ५ गते २०८२, कास्की ।

कास्कीको पोखरामा १५ बर्षिया बालिकाको २० बर्षिय पुरुषसँग भएको बालविवाह, स्थानीय सरकार र नागरिक समाजको पहलमा बदर गरिएको छ । एस.ई.ई. को परिक्षा दिएर बसेकी बालिकाको पोखरा नै बसोबास गर्ने एक २० बर्षिय व्यक्तिसँग गएको बैशाख ३ गते सिन्दुर पोते भएको खबर पछि स्थानीय संघ संस्था र स्थानीय बाल कल्याण अधिकारीको उपस्थितिमा बालविवाह रद्द गरिएको हो । बैशाख ३ गते सिन्दुर पोते भएको बहिनी एडुकेयर संस्थाले खबर पाए लगतै बाल हेल्पलाइन १०९८ कास्कीसँगै स्थानीय वडाअध्यक्ष र गाउँलेलगायतको उपस्थितिमा बालिकालाई उद्धारगरी परिवारको जिम्मा लगाइएको थियो । बालिका फेरी तिनै पुरुषको घरमा फर्किएको खबर पाए लगतै बाल हेल्पलाइन कास्की, बहिनी एडुकेयर, एड्भोकेसी फारेम र राइट फर चिल्ड्रेनलगायतको सक्रियतामा बालिकालाई गएको जेठ ४ गते फेरी उद्धार गरिएको थियो । त्यसपछि बाल हेल्पलाइन कास्कीको संयोजनमा स्थानीय बालकल्याण अधिकारी, पोखरा महानगरपालिका र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय कास्कीसमेतको सहभागितामा भएको छलफल पछि दुबै पक्षबीच छलफल गरी बालविवाह रद्द गरिएको थियो । बालकल्याण अधिकारीको सिफारिसमा बालिकालाई बाल हेल्पलाईन कास्कीमा आपत्कालिन संरक्षणकालागि लगिएको बाल हेल्पलाइन कास्कीका संयोजक शंकल नेपालीले जानकारी दिनुभएको छ ।