असार १५ गते २०८२, महोत्तरी।
बाल विवाह, छिटो हुने विवाह, र जबरजस्ती विवाह अन्त्यका लागि सक्रिय महोत्तरी र सर्लाहीका नागरिक समाज संघसंस्थाका प्रतिनिधिहरूलाई लक्षित गर्दै बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्याको पहिचान, उपचारका लागि उपलब्ध सेवा तथा नागरिक समाज संघसंस्थाको भूमिकाका विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो। मानसिक अस्पताल लगनखेलमा कार्यरत मनोचिकित्सक डा. अमित झाले गर्नुभएको अभिमुखीकरणका क्रममा बालबालिका र किशोरकिशोरीको अधिकार स्थापनामा काम गरिरहेका नागरिक समाज संघसंस्थाका प्रतिनिधिहरुलाई तनाव व्यवस्थापनकालागि गर्न सकिने कसरत र क्रियाकलापहरुको अभ्यास पनि गराइएको थियो ।
कार्यक्रममा बाल हेल्पलाइन १०९८ र बाल अधिकार स्थापनामा नागरिक समाज संघसंस्था बीचको सहकार्यका सम्भावनाहरू सम्बन्धमा समेत विस्तृत छलफल गरिएको थियो।
सेभ द चिल्ड्रेनसँगको सहकार्यमा असार १३ र १४ गते सञ्चालन गरिएको कार्यक्रममा महोत्तरी र सर्लाहीका १५ ओटा संघसंस्थाबाट ३५ जना प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो।






