साउन २ गते २०८२, काठमाडौं
मुटुको उपचारका लागि गंगालाल अस्पतालमा आउने बालबालिका तथा किशोरकिशोरीमा देखिन सक्ने मानसिक स्वास्थ्य समस्या पहिचानका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका नर्सहरूलाई अभिमुखिकरण तालिम दिइएको छ।
कान्ति बाल अस्पताल र सिविन नेपालको सहकार्यमा आयोजित अभिमुखिकरण कार्यक्रममा गंगालाल अस्पतालका ८३ जना नर्सहरूको सहभागिता रहेको थियो। तालिममा सहभागीहरूलाई मानसिक स्वास्थ्य समस्या पहिचानका साथै आवश्यक परेमा रिफरल संयन्त्रको प्रयोगबारे समेत जानकारी दिइएको थियो।
यसअघि सिविन नेपालको संयोजनमा गंगालाल अस्पताल र कान्ति बाल अस्पतालबीच बालबालिकाको मानसिक स्वास्थ्य समस्या पहिचान र उपचारका लागि तालिम सञ्चालन गर्ने सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ। सोही सहकार्यअन्तर्गत गंगालाल अस्पतालका दुई जना नर्सहरूले कान्ति बाल अस्पतालको बालबालिका तथा किशोर मानसिक स्वास्थ्य इकाइमा दुई महिनाको अभ्यासमूलक तालिम पनि लिइसकेका छन्।

